काठमाडौं।कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौंमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग गर्न जापान सरकारसँग आग्रह गरेका छन् ।
नेपालका लागि जापानका राजदूत मायडा तोरुसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले यस्तो आग्रह गरेका हुन् ।
जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै उनले आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोगको अपेक्षा गरिएको बताए ।
नेपालले कृषिमा लगानी दशक घोषणा गरी लगानी भिœयाउने नीति लिएको भन्दै मन्त्री अधिकारीले जापानी लागानीकर्तालाई पनि नेपालमा लगानीका लागि सहजीकरण गरिदिन आग्रह गरे ।
आगामी वर्ष नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुग्ने उल्लेख गर्दै उनले सो अवसरमा समेत जापानको निःस्वार्थ सहयोगमा अझ वृद्धि हुने अपेक्षा व्यक्त गरे ।
भेटवार्तामा जापानी राजदूत तोरुले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै कृषिमा जारी सहयोगलाई निरन्तरता दिँदै आगामी दिनमा सहयोगका थप सम्भावनाको अध्ययन गर्ने प्रतिबद्घता व्यक्त गरे ।
जापानले कृषिको विकासमा उपकरणको प्रयोगलाई महत्व दिएको उल्लेख गर्दै नेपालले पनि कृषिमा आधुनिकीकरण गर्दै जानुपर्नेमा उनले जोड दिए ।

