बिहि, असार ४, २०८३

शक्तिशाली सरकारलाई चुनौती दिदै घुस खान छाड्दैनन कर्मचारी, घुस सहित अमिन पक्राउ


कञ्चनपुर, असार ४ सुुशासनको लक्ष्य बोकेको दुई तिहाईको रास्वपा सरकारलाई चुनौती दिर्दै केही भ्रष्ट कर्मचारी घुस लिन छाडेका छैनन । नापी कार्यालयदेखिका विभिन्न सरकारी निकायका कर्मचारी घुमा लिप्त भएका छन । नापी कार्यालय, चाबहिल २ नं नापी टोलीका अमिन टोपजंग खत्री घुससहित पक्राउ परेका छन्।

जग्गा हाल साबिक गरी जग्गाधनी पुर्जा बनाइदिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग उनले ६० हजार घुस लिएका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीस्थित कार्यालय परिसरबाट पक्राउ गरेको हो। यसैविच पासपोर्ट छपाइमा भएको अनियमितताको छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुईजनालाई नियन्त्रणमा लिएको छ।

राहदानी विभागका लेखा अधिकृत तुलसीप्रसाद अर्याल र म्युहलबाउर आइडी सर्भिसका नेपाल प्रतिनिधि मनेन्द्र मल्ललाई आयोगले बुधबार पक्राउ गरेको हो। उनीहरूलाई तीन दिन थुनामा राख्नसमेत विशेष अदालतले म्याद दिएको आयोगका एक अधिकारीले बताए।

आयोगले सोमबार यस मुद्दामा विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील केसीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। विभागका अन्य कर्मचारीलाई तारेखमा राखिएको छ। सार्वजनिक खरिद नियमावली मिचेर विभागले ६४ लाख पासपोर्ट छपाइको जिम्मा दुई जर्मन कम्पनीलाई दिएको विषयमा छानबिन अघि बढेको हो।अर्काे जर्मन कम्पनी भेरिडासका नेपाल प्रतिनिधि सिद्धार्थ थापा भने फरार भएका छन्।

उनलाई पक्राउ गर्न अख्तियारले प्रहरीलाई पत्राचार गरेको छ। भेरिडासले ६ अर्ब ११ करोड तथा म्युहलबाउरले एक अर्ब ५५ करोडको ठेक्का पाएका थिए। यस्तै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास केन्द्रमा जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहयोगी कार्यकर्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले पाँचथरको हिलिहाङ गाउँपालिका– ७ स्थित जयभवानी माविको बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता विनाकुमारी राईविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

राईले कक्षा ८ र एसएलसीको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र पेस गरी जागिर खाएको अख्तियारको आरोप छ। उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ। अनियमितता, भ्रष्टाचारदेखिका गैर कानुनी गतिबिधीमा सरकारी कर्मचारी लिप्त भएपछि जनता हैरान भएका छन ।

सम्बन्धित समाचार