कञ्चनपुर/ माघ ३ ढोकाको छेउमा बसेकी वृद्ध आमा मौन छिन्। मलिन अनुहार, काँपिरहेका हात र हातमा कागजको खोस्टोमा कैद छोराको तस्बिर। कहिले एकटकले त्यो अनुहार हेरिरहेकी हुन्छिन्, कहिले हातले तस्बिर सुम्सुम्याउँछिन्।

आमाका हात निरन्तर काँपिरहेका छन्, मन चिन्ताले अशान्त छ। छोराको पिरलोले सुकिसकेका आँखामा पीडा लुकेको छैन। बोल्न खोज्दा शब्द अड्किन्छन्, स्वर काँप्छ उनको। भीमदत्त नगरपालिका-९, ब्रह्मदेवकी कमलादेवी नायक दुई वर्षदेखि यही पीडामा बाँचिरहेकी छन्।रुसी सेनामा भर्ती भएर गएको छोरा दीनेश आजसम्म घर फर्किएको छैन। घर नजिकैको महाकालीमा धेरै पानी बगिसक्यो। तर २ वर्षदेखि आमाले न उसको आवाज सुन्न पाएकी छन्, न कुनै खबर।
उनी छोरा फर्किने विश्वास र आशामा बाटो कुरेर बसेकी छन्।‘छोरा कहाँ छ, कस्तो अवस्थामा छ, केही खबर छैन,’ कमलादेवी भन्छिन्, ‘उसको केही खबर आउँछ कि भन्ने आशमै बसेका छौं।’ २३ वर्षीय दीनेश उच्च शिक्षा अध्ययनका लागि रुस जान २०८० असार ८ गते घरबाट बिदा भएका थिए।काठमाडौँबाट एक सातापछि विद्यार्थी भिसामा रुस उडेका थिए उनी। दीनेशसँगै ब्रह्मदेवकै उनका दाइ नाता पर्ने (मामाका छोरा) रोहण पनि थिए। रुस पुगेपछि उनले आफू पढ्ने कलेज पनि हेरे। कोठामा बसिरहेका बेला उनको कलेजको एक महिना विदा थियो।त्यही बेला काम गरेर उनले घरमा ५० हजार रुपैयाँ खर्च पनि पठाए।
‘महेन्द्रनगरकै कन्सल्टेन्सीबाट अध्ययन गर्न गएको हो। कलेज एक महिनापछि लाग्छ। अहिले काम गरिरहेको छु भन्दै भदौ १२ गते उसले पैसा पठायो,’ दीनेशका बुवा कर्णसिंह भन्छन्।दीनेश परिवारसँग निरन्तर सम्पर्कमै थिए। भदौ १४ गतेतिर परिवारले अपत्यारिलो खबर पाए।
पढ्न गएका दीनेश आफू रुसी सेनामा भर्ती भएको परिवारलाई सुनाउँछन्। आमाबुवाले युद्ध चलिरहेकोले खतरा हुने भन्दै सेनामा नजान सम्झाइबुझाइ गरे। तर आर्थिक प्रलोभनमा परेका उनी रोकिएनन्।‘सेनामा भर्ती भएपछि मात्रै हामीलाई भन्यो। १५ दिनको तालिमपछि सम्झौता गरेर ३ लाख दिन्छ भन्थ्यो,’ बुवा कर्णसिंह भन्छन्, ‘हामीले सेनामा नजाउ, बरु घर फर्किएर आउ, जग्गा बेचेर भए पनि ऋण तिरौंला भन्यौं। तर मानेन।
उनका अनुसार पैसाको प्रलोभनमा फसेर दीनेश सेनामा भर्ती भएर युद्धमा होमिए। भर्ना भएपछि पाउने भनिएको ३ लाख रुपैयाँ पनि उनले पाएनन्। अध्ययनका लागि रुस जान १२ लाख रुपैयाँ खर्च भएको उनले बताए।
दीनेशले कार्तिक महिनातिर तलब बुझेपछि ७३ हजार रुपैयाँ बुवाको खातामा पठाए।रुसी सेनामा भर्ती भइसकेपछि २–३ महिनासम्म परिवारसँग कुराकानी भइरहन्थ्यो। युद्धका लागि लगेपछि ५-१० दिनसम्म कुरा हुन्थेन। फर्किएपछि उनी आमाबुवा र भाउजू भागरथीसँग कुराकानी गरिहाल्थे। दीनेश दुई पटक युद्धमा गए।१० मंसिर २०८० मा पनि उनले आमा र भाउजूसँग दिउँसोदेखि रातिसम्मै कुराकानी गरे।
युद्धमा जान लागेको र १५ दिनपछि फर्किएर आउने उनले परिवारलाई सुनाए। यसपछि एक महिनाका लागि विदामा घर आउने कुरा पनिदीनेशले भाउजू र आमालाई बताएका थिए।तर त्यसपछि दीनेशसँग परिवारको सम्पर्क कहिल्यै हुन सकेन। ‘तयार रहनू, आज-भोलि बिहान वा पर्सी जानु पर्छ भनेर भनेको छ। मोबाइल लैजान दिँदैन, चिन्ता नलिनु, म फर्किएर आउँछु भन्नुहुन्थ्यो,’दीनेश बेपत्ता हुनुअघिको कुराकानी सम्झिँदै भाउजू भागरथी भन्छिन्, ‘५-७ दिनमा सम्पर्कमा आइहाल्नुहुन्थ्यो, तर त्यो दिनपछि त सम्पर्क नै हुन सकेन।’दीनेश बेपत्ता भएको दुई वर्ष बितिसक्दा पनि उनको परिवारले अझै अत्तोपत्तो पाउन सकेको छैन।
संगै रुस गएका दाइ रोहण पनि रुसी सेनामा भर्ती भएका थिए। उनी विदाको मौका छोपेर ६-७ महिनामै भागेर सकुशल घर फर्किन सफल भए।परिवारले बेपत्ता रहेका छोरा दीनेशलाई चाँडो घर फिर्ती गराउन परराष्ट्र मन्त्रालयमा निवेदन दिए।
परराष्ट्र मन्त्रालयले मस्कोस्थित नेपाली दूतावासलाई ०८१ साउन १४ गते पत्र काटेको थियो।तर अहिलेसम्म सरकारबाट छोराबारे कुनै जानकारी नआएको परिवारको गुनासो छ। बेपत्ता रहेका दीनेशको खोजी गरेर चाँडो घर फर्काइदिन परिवार हारगुहार गरिरहेको छ।

