बुध, जेष्ठ २०, २०८३

रवि लामिछानेको भारत भ्रमणबारे भाजपाले भन्यो– रचनात्मक संवादको अपेक्षा गर्दछौँ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमणबारे भारतीय जनता पार्टीले औपचारिक जानकारी दिएको छ। भाजपाको अन्तर्राष्ट्रिय विभागका प्रमुख विजय चौथाईवालेले आइतबार प्रेस विज्ञप्तिमार्फत भ्रमणबारे जानकारी गराएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘भारतीय जनता पार्टी यस प्रतिनिधिमण्डललाई स्वागत गर्दछ र रचनात्मक संवादको अपेक्षा गर्दछ।’ लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल सोमबार भारत भ्रमणमा जान लागेको हो। भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा रास्वपा नेतृत्व भ्रमणमा जान लागेको हो।

‘यस भ्रमणको उद्देश्य रास्वपा र भाजपाबिच पार्टी–पार्टीस्तरको सम्बन्धको सुरुवात गर्नुका साथै संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्नु हो,’ भाजपाले भनेको छ।

प्रतिनिधिमण्डलले भ्रमणमा पार्टी अध्यक्षलगायत वरिष्ठ नेतालाई भेट्नेछन्। त्यस्तै, रास्वपाले पनि भ्रमणबारे बिज्ञप्तिमार्फत जानकारी दिएको छ। रास्वपाका अनुसार भ्रमणमा नेताहरू विपिन आचार्य र दीपक बोहरा सहभागी हुनेछन्। पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार उनी व्यक्तिगत भ्रमणमा अयोध्या समेत जानेछन्।

सम्बन्धित समाचार