कञ्चनपुर, बैशाख २८सुदूरपश्चिम प्रदेश दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय ६ महिनापछि गाउँ फर्किएका छन ।
गत मंसिरमा चिसो छल्न गाउँ छोडेर खलंगा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन । गत मंसिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय बैशाख अन्तिम साता मात्रै पुनःफर्किएका छन्।
‘६ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी(देवता भरोसामा जस्तोको तस्तै रहेछ’, स्थानीय जसपाल तिंकरीले भन्छन्, ‘भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन ।
’ ६ दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँपुगेपछि चहलपहल बढेको छ। टिंकर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन। स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन्। वडा नम्बर १ का वडा सदस्य एवं टिंकरका स्थानीय हितेश बुढाथोकी भन्छन, ‘आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ।
’ आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरेको स्थानीयको गुनासो छ। राज्यले समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो। सरकारले विशेष अनुदानअन्तर्गत चालू आर्थिक वर्षमा ५ करोड ५० लाख रुपैयाँ बजेट पठाएपनि गाउँपालिकाले ठेक्कामा ढिलाइ हुँदा बाटो बन्न सकेन।
यद्यपी गाउँपालिकाले यसै साता मात्र निर्माण कम्पनी छनोट गरेको छ। यो पटक आफ्नै भूमि भएर गाउँ जाने सपना बुनेका व्यासीहरू अन्ततः भारतकै भूमि भएर गाउँ फर्किनुपरेको बुढाथोकी बताउँन । ‘कहिलेकाही आफ्नै सरकारप्रति हिनताबोध हुन्छ।’ ०७७ जेठ ७ गते सरकारले चुच्चे नक्सा जारी गर्दा स्थानीय निकै खुसी थिए।
‘भूगोल नआए पनि नक्सामा हाम्रो भन्ने अधिकार पाएको महसुस गर्यौँ’ जसमल बुढाथोकी भन्छन्, ‘तर, नक्सा पाएका नागरिकको लागि पैदलबाटो बनाउन सरकारले यतिका वर्ष लगाउँदैछ। सडक सपना त अझै धेरै टाढाको छ।
’ नक्साजारी भएपछि एकपटक सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी र्गयो। नागरिकमा एक प्रकारको खुसीले छायो। तर, विस्तारै ती सबै सपना जस्तै लाग्न थालेको स्थानीय दानसिंह तिंकरीको बुझाइ छ।त्यो बेला राज्यका माथिल्लो निकायबाट भएको भ्रमण हेर्दा व्याससम्म सडक चाडै पुग्ने विश्वास थियो। यहाँका बासिन्दा वर्षको आधा समय खलंगामा र बाँकी समय टिंकरमा बस्ने गर्छन्।
उनीहरूको भाषामा यसलाई ‘कुञ्चा’ सर्नु भनिन्छ। कुञ्चा भनेको सौका समुदायको भाषामा बसाइसराइ हो। ३ हजार ३ सय मिटर उचाइमा अवस्थित यस गाउँमा ६ फिटभन्दा बढी हिउँ पर्ने हुँदा हिउँदमा बस्न सकिँदैन।
चिसो छल्न उनीहरू परिवार, पशुचौपाया, खाद्यान्नसहित खलंगातिर सर्छन । चिसो मौसम भएका कारण ६ महिना गाउँ सुनसान हुन्छ। घरका ढोकामा चाबी लगाइएको हुन्छ। ‘अहिलेसम्म गाउँमा चोरी भएको घटना छैन, यो सबै भगवान्को देन हो’ स्थानीय दान सिंहले भन्छन्, ‘हामीहरूको संस्कृति, परम्परा र पूजापाठमा गहिरो आस्था छ। यही कारण कोही नहुँदा पनि हाम्रो खाद्यान्न, घर सुरक्षित नै रहेको हुन्छ।’
स्थानीयको मुख्य जीविकोपार्जन कृषि, व्यापार र जडिबुटी संकलन हो। यहाँ फापर, उवा, काकनु, आलु गहुँजस्ता अन्नबाली उत्पादन हुन्छ। उनीहरू गाई, चौरी, खच्चड, घोडा, बाख्रा पाल्छन्। अहिले गाउँपुगेपछि स्थानीय आलु फापर, गहुँ, छर्ने तयारीमा छन ।
पहिला चीनसँगको व्यापार खुला हुँदा तिब्बतसँग किनमेल गर्थे। तर, पछिल्लो समय चीनबाट खाद्यान्न आउन रोकिएको छ। नेपालमा मात्रै बसोबास गर्ने व्यासी सौका समुदायको मात्रै बसोबास हुन्छ। परम्परागत घरले सुन्दरता दिएको छ। टिंकर प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ।
मनमोहक फूल, घर नजिकै देखिने नाउर जस्ता वन्यजन्तु, अपि हिमाललगायत हिमशृङ्खला, सुदूरहिमाली जीवनशैलीले यस ठाउँलाई विशेष बनाउँछ। सौका समुदायले आफ्नै भाषा ‘रंग’ बोल्छन । व्याँस गाउँपालिका १ कातिंकरबासीहरू वर्षको करिब ६ महिना गाउँमा बसोबास गर्छन्।
सो अवधिमा स्वास्थ्य चौकी नहुँदा उनीहरू सामान्य रोग लाग्दा पनि भारतीय स्वाथ्यकर्मी समक्ष धाउनुपर्छ या आफैँले खलंगाबाट बोकेर लिएको औषधि प्रयोग गर्न बाध्य छन्।
‘सामान्य टाउको दुख्दा औषधि हुँदैन, ज्येष्ठ नागरिक बिरामी हुँदा अकालमै ज्यान गुमाउनुको विकल्प छैन’ स्थानीय जसमल बुढाथोकीले भने। धेरैले सिटामोल, दमलगायत औषधि खलंगाबाट आफूसँगै बोकेर लान्छन्।
उनीहरूको भाषामा आफैँ स्वास्थ्यकर्मी आफैँ बिरामी जस्तै हो। व्यास १ को छांगरूमा स्वास्थ्य चौकी छ। तर तिंकर गाउँबाट छांगरू आउजाउ गर्न ५ घण्टा बढी समय लाग्छ। गाउँमा युवा कमै बस्छन्। बिरामी हुँदा बोक्न पनि मुस्किल पर्छ। पढाई र रोजगारीको सिलसिलामा गाउँभन्दा बाहिर युवा हुँदा गाउँमा कुनै अप्ठ्यारो पर्दा समस्या हुने गर्छ।
‘पहिले त कोही बिरामी हुँदा ४र५ दिनपछि खबर पाउने अवस्था थियो’ बुढाथोकी भन्छन्, ‘गतवर्षदेखि ल्याण्डलाइन र नेपाल टेलिकमको टु जीफोन सञ्चालन भएपछि सहज भएको छ।’चिसोका कारण बिरामी पर्ने जोखिम उच्च छ। तर, यस क्षेत्रमा राज्यको ध्यान पुगेको छैन। सर्वसाधारण मात्र होइन यहाँका सुरक्षाकर्मीले बोकरै औषधि लिनुपर्छ। वडा सचिव विनोदसिंह बुढाथोकीका अनुसार तिंकरमा ३र४ वर्षअघि निर्माण थालिएको स्वास्थ्य भवन अझै पूरा हुन सकेको छैन’ वडा सचिव भन्छन्, ‘समयमै बजेट नआउँदा स्वास्थ्य सस्था सञ्चालनमा आउन सकेको छैन।
’ पञ्चायतकालमा टिंकर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो। बहुदल आएपछि त्यो बाटो बन्द भयो। गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले जहिल्यै आफ्नै गाउँ फर्किन भारतीय भूमि र भारतीय अनुमतिको भर पर्नुपरेको छ। ‘व्यास गाउँपालिका(१ को छांगरूरटिंकर जोड्ने गरी पटक(पटक बजेट नगएको भने होइन। तर नियमन निकायको अभाव भयो। बजेटको सही प्रयोग हुन नसक्दा यो बाटो कहिल्यै बनेन्’ व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामी भन्छन्।
तत्कालीन जिल्ला विकास समिति, गाउँविकास समितिमार्फत बजेट राख्यो। ०७४ मा स्थानीय सरकार बनेपछि गाउँपालिकाले लगानी गर्यो। गतवर्ष बाटो मर्मत सम्भारमा करोड खर्च भयो। तर बाटोको अवस्था उस्तै छ। विगतमा केही ठाउँमा भारतीय सडक निर्माणको क्रममा नेपालतिरको बाटो अवरूद्ध भएको स्थानीयवासी बताउँछन्।
ठाउँरठाउँमा भारतले महाकाली नदी किनारैकिनार सडक लाँदा ड्याम बाधिएर नेपालतर्फको बाटो क्षति हुन पुगेको छ। केही ठाउँमा पहिरो गएपछि बाटो अवरुद्ध भएको छ। तम्बाकुलगायत क्षेत्रमा नेपालतिर नदीले पूरै कटान गरेपछि पूर्णरूपमा बाटो बन्दभएको वडाध्यक्ष योगेश बोहरा बताउँछन्।
नेपालतिर बाटो नबनेकै कारण व्यासका नागरिक मात्र होइन, व्यासमा कार्यरत सशस्त्र प्रहरी बल नेपाल नम्बर ५) गुल्म, इलाका प्रहरी कार्यालय छांगरू, बीओपी तिंकर तथा सीमा चौकी तिंकरी प्रहरीलगायतले भारतकै बाटोको भर पर्नुपरेको छ। दार्चुलाको टिंकर क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीको बसाइ अधिकतम ६ महिनासम्म मात्र हुन्छ।
चिसो मौसमका कारण सुरक्षाकर्मीहरू स्थानीय जस्तै बसाइ सर्नुपर्ने अवस्था आइपरेको हो। स्थानीयको कुञ्चागाउँ पुग्ने बेला सशस्त्र प्रहरी टिंकर उक्लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति डिएसपी लीलीबहादुर चन्दले बताए। अहिले सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाबाट सशस्त्र प्रहरी निरीक्षक अनिल शाहीको नेतृत्वमा सशस्त्र प्रहरी टिंकरमा खटिएको हो।
उनीहरू भारतीय बाटो हुँदै टिंकरको छायालेक बीओपी पुगेका हुन्। २ वर्षदेखि टिंकरको छायालेकमा सशस्त्र प्रहरी बस्न थालेको हो। व्यासकै छांगरूमा गुल्म छ। चुच्चे नक्सा जारी भएसँगै यहाँ सुरक्षाकर्मी राखिएको हो। छांगरूमा सशस्त्र प्रहरी र नेपाल प्रहरी वर्षभरि नै बस्ने गर्छन्।
नेपाल प्रहरी भने १र२ दिनभित्र टिंकर उक्लिने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्र रावत बताउँछन । अहिले नेपाल र भारत दुवैतर्फबाट अनुमति पत्र बनाउने काम भइरहेको उनको भनाइ छ। स्वदेशबाटै दार्चुलाका जुनसुकै भूमिमा आवत जावतको वातावरण बनाउन आग्रह गरिएको छ ।

