कञ्चनपुर, २१ बैशाख कञ्चनपुरका सबै पालिकामा एकसाथ एकै दिन पालिका अधिवेशन हुन लागेको छ । २६ बैशाख (शनिबार) जिल्लाका ९वटै पालिकामा एकसाथ अधिवेशन हुन लागेको हो । नेपाल रेडक्रस सोसाईटी पालिका स्तरिय कार्य समिति चयनका लागि अधिवेशन हुन लागेको जनाईएको छ ।
नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरका कार्यालय प्रमुख मनोज प्रशाद उप्रेतीले पहिलो पटक जिल्लाका ९वटै पालिकामा एकसाथ अधिवेशन हुन लागेको बताए । उनका अनुसार यस अघि जिल्लाका विभिन्न स्थानमा उपशाखाहरु रहेका थिए, अहिले पालिका स्तरमै समिति चयन गर्न लागिएको हो । पालिकामा नयाँ कार्य समिति चयनका लागि निर्वाचन कार्यतालिका प्रकासित भएको छ ।
सबै पालिकामा मतदाता नामावली प्रकासन भएको छ । २४बैशाखमा उम्मेदवारी दर्तापछि २६मा सिधै निर्वाचन हुनेछ । बेलडाँडी गाँउपालिका ६१८, बेलौरी नगरपालिका ४९३, पुनर्वास नगरपालिका ५१४, लालझाडी गाँउपालिका १०७,कृष्णपुर नगरपालिका ३११, शुक्लाफाँटा नगरपालिका २८६,बेदकोट नगरपालिका ३१०, भीमदत्त नगरपालिका ९५५ र दोधाराचाँदनी नगरपालिकामा ४८९मतदाता रहेका छन ।
आ–आफ्नो पालिकामा रेडक्रसको पदाधिकारी नयाँ कार्य समिति चयनका लागि पालिका स्तरमा रेडक्रसकर्मी दौडधुप बढाईरहेका छन । जिल्लाभरी रहेका ४ हजार ८३ मतदाताले आ–आफ्नो पालिकामा रेडक्रसका नेता छान्नेछन । मानविय सेवा गर्दै आएको परोपकारी संस्था रेडक्रसमा पालिका स्तरमा नयाँ कार्य समिति चयनसंगै विपद्देखिका प्राकृतिक प्रकोपबाट संकटमा परेका मानिसको उद्दार गर्ने अपेक्षा गरिएको छ ।

