धिरेन्द्र भट्ट, कंचनपुर। फार वेस्टर्न युनिभर्सिटी युथम्यापर्स र नेप्लिज सोसाइटी अफ स्टुडेन्ट रिसर्चर्स (NSSR) बीच औपचारिक रूपमा समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ। यस सहकार्यले दुवै संस्थाबीच अनुसन्धान, ओपन म्यापिङ तथा शैक्षिक गतिविधिहरूलाई थप सुदृढ, व्यवस्थित र दीर्घकालीन रूपमा अघि बढाउने लक्ष्य लिएको छ।
सम्झौताअनुसार अनुसन्धान संस्कृतिको प्रवर्द्धन गर्ने, विद्यार्थीहरूलाई अनुसन्धानमुखी गतिविधिमा सक्रिय बनाउने तथा ओपन म्यापिङको अभ्यासलाई शैक्षिक तथा व्यावहारिक रूपमा विस्तार गर्ने उद्देश्य राखिएको छ। यस सहकार्यले विद्यार्थीहरूलाई भू-स्थानिक प्रविधि, डेटा संकलन, विश्लेषण तथा म्यापिङसम्बन्धी सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
त्यसैगरी, संयुक्त रूपमा तालिम, कार्यशाला, सेमिनार, अनुसन्धान परियोजना तथा म्यापिङ अभियानहरू सञ्चालन गरिनेछ। यी कार्यक्रमहरू मार्फत विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसँगै अनुसन्धानात्मक सोच विकास गर्न सहयोग पुग्ने जनाइएको छ। साथै, दुवै संस्थाले ज्ञान आदान–प्रदान, नवप्रवर्तन र विद्यार्थी नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्।
समझदारीपत्रमा हस्ताक्षर समारोहमा फार वेस्टर्न युनिभर्सिटी युथम्यापर्सका अध्यक्ष किरण भट्ट र नेप्लिज सोसाइटी अफ स्टुडेन्ट रिसर्चर्स (NSSR) का अध्यक्ष मनीष पाण्डेको उपस्थितिमा हस्ताक्षर सम्पन्न भएको हो।दुवै संस्थाले यस सहकार्यलाई केवल औपचारिक सम्झौतामा सीमित नराखी, व्यवहारिक कार्यान्वयनमार्फत विद्यार्थी समुदायमा वास्तविक प्रभाव पार्ने दीर्घकालीन प्रयासका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

