भवानीदत्त भट्ट कञ्चनपुर, असोज १ गते । द्वापर युगका भगवान् श्रीकृष्णसँग सम्बन्धित राक्षसी पूतनाको प्रतिमा जलाएर यहाँका स्थानीयहरूले आज ‘बुढी पोल्ने’ पर्व मनाएका छन् ।
सुदूर पहाडी जिल्लाबाट बसाईसरी आएका स्थानीयहरूले गत भदौ सङ्क्रान्तिदेखि सङ्कलन गरेका हाँगा, काठ, झ्याङलगायत सामग्रीबाट तयार गरिएको राक्षसी पूतनाको प्रतिमा एक ठाउँमा भेला भएर जलाएका हुन् ।
स्थानीयहरूले उक्त प्रतिमालाई बिहीबार साँझ सामूहिक रूपमा दोबाटोमा लगेर जलाउनुका साथै काँक्रो खाँदै चारै दिशातर्फ ‘लुतो’ फाल्ने प्रचलन रहिआएको छ ।
स्थानीय जनविश्वासमा ‘बुढी’लाई पूतनाको प्रतीकका रूपमा लिइन्छ । पूतनाको अन्त्यको सम्झनामा यो पर्व मनाउने मान्यता रही आएको स्थानीय चन्द्रादेवी भट्टले बताउनुभयो ।
धार्मिक तथा पौराणिक मान्यताअनुसार बालबालिकालाई विषालु दूध खुवाएर मार्न खोज्ने राक्षसी पूतनालाई भगवान् श्रीकृष्णले वध गरेको खुसीयालीमा यो पर्व मनाइँदै आएको छ ।
स्थानीय किंवदन्तीअनुसार श्रीकृष्णले पूतनाको वध गरेपछि सत्यको विजयको स्मरण स्वरूप ‘बुढी पोल्ने’ पर्व मनाउन थालिएको हो । प्रत्येक वर्ष असोज १ गते मनाइने यो पर्व यहाँको मौलिक संस्कृति र परम्परासँग जोडिएको संस्कृतिका जानकार लोकराज ओझाले बताउनुभयो ।
यस पर्वले पशु चौपायामा रोग व्याधि नलाग्ने जनविश्वाससमेत रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार विभिन्न झ्याङबाट सिँगारिएको बुढीलाई बिहानै गोठबाट निकालेर दिनभर घाममा सुकाइन्छ । साँझको समयमा उक्त प्रतीकलाई आजको साँझ दोबाटोमा लगेर स्थानीयहरूले जलाउने गरेका छन् ।

