धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा संविधानका मूल मर्म र भावनालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले संविधान निर्माण तथा लोकतान्त्रिक अधिकार प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा उच्च सम्मान व्यक्त गरेका छन् ।
उनले महाज जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थारू आन्दोलनलगायतका संघर्षबाट प्राप्त उपलब्धिको स्मरण गर्दै सहिदहरूको त्याग, बलिदान र योगदानलाई सम्मान गर्नुपर्ने उल्लेख गरेका छन् । संविधानको मूल मर्म र भावनालाई व्यवहारमा कार्यान्वयन गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ ।
मुख्यमन्त्री भट्टले संविधानले सुनिश्चित गरेका लोकतन्त्र, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समानता र समावेशिताका मूल्य-मान्यतालाई संस्थागत गर्दै समृद्ध, आत्मनिर्भर र न्यायपूर्ण समाज निर्माणतर्फ अघि बढ्नुपर्ने बताएका छन् ।
शुभकामना सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सुदूरपश्चिमेली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।मुख्यमन्त्री भट्टले संविधान दिवसले सबैलाई एकजुट भएर अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छासमेत व्यक्त गरेका छन् । सन्देशमा मिति २०८३ असोज ३ गते उल्लेख गरिएको छ।

