कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाकी गिता चौधरी सामान्य कृषक परिवारकी हुन्। उनका हजुरबुवा कमैया बसेका थिए। उनले कमैया बसेकै बेला पनि छोराछोरीलाई स्कुल पठाए। बुवा र फुपुहरुले स्कुल गएकै कारण गिताका लागि झनै सहज भयो।
स्कुल पढ्दा उनी सानैदेखि बाल क्लब हुँदै युवा क्लबलगायतका विभिन्न संघसंस्थामा आवद्ध हुन थालिन्। गाउँमा वालविवाह रोक्ने विषयमा होस् वा समाजमा हुने गलत विषयमा उनी अगाडि बढेर विरोध गरिहाल्थिन्। यहीँ भएर उनलाई साथीभाई र केही गाउँलेले ‘नेता’ को उपमा दिन्थे।तर गितालाई जिस्क्याएजस्तै लाग्थ्यो।
एकदिन उनले आफ्नै शिक्षकलाई नेता हुन के गर्नुपर्छ? भनेर सोधिन्। शिक्षकले धेरै अध्ययन गर्नुपर्ने, कानुनको ज्ञान हुनुपर्नेलगायतका कुरा भनेपछि उनलाई कानुन पढ्ने रहर जाग्यो।नहुँदै उनले एसएलसी उत्तीर्ण गरेपछि कानुनबाटै स्नातकोत्तरसम्म अध्ययन गरिन्। त्यसपछि काठमाडौंमै वकालत गर्न थालिन्। नेता हुन कानुन पढेर वकालतमा लागेकी तिनै ३३ वर्षीया गितालाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाएको छ।
स्कुल पढ्न जाँदा उनको समुदायका किशोरीहरु कतिपय कम्लरी बस्न गइरहेका थिए भने कतिपय घरकै काममा हुन्थे। थोरै स्कुल जाने पनि दुई/चार कक्षाबाटै पढाइ छाड्थे। तर उनले छाडिनन्। त्यसकै प्रतिफल आज उनी सांसद बनिन्।गितालाई सांसदको पद खुसीसँगै ठूलो भारी पनि बनेको छ। जनताका इच्छा र आकांक्षा धेरै भएकाले तिनको सम्बोधन अनिवार्य भएको उनले बताइन्। उनी हुर्केको ठाउँमा अहिले पनि बाढीले हुने कटान, डुबानसँगै अव्यवस्थित बसोबास, तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएकाहरुको पुर्नस्थापना र मुक्त कमैयाले अझै लालपूर्जा नपाएकालगायतका समस्या छन्।
अहिले पनि धेरै बस्ती कटान र डुबानले प्रभावित हुने गरेको छन्,’ उनले भनिन्, ‘तिनको दीगो व्यवस्थापन गर्न आवश्यक छ, त्यसका लागि मेरो पहल रहनेछ।’ आरक्ष बिस्तारका क्रममा घरबारबिहीन भएकाहरुको पीडा उनले नजिकबाटै नियालेकी छिन्।उनले गाउँनजिकै पनि विस्थापित हुँदाका पलहरु आफ्नै आँखाले देखेकी छिन्। यसबाहेक अहिले पनि कतिपयले उपचार नपाएर ज्यान गुमाउनुपरेको छ। विपन्न समुदायले अहिले पनि शिक्षा सहजै पाउन सकेका छैनन्।
यी सबै समस्या समाधान गर्नु मेरो पहिलो उद्देश्य हुनेछ,’ चौधरीले भनिन्, ‘यसका लागि नीतिगत रुपमै सुधार गर्नुपर्ने हुन्छ, जुन समुदायबाट म आए त्यो समुदायका सामाजिक न्यायका कुरा पनि छन्, तिनको सम्बोधन पनि गर्नुपर्ने छ।’उनले गाउँमा विभिन्न संघसंस्थामा काम गर्दा मण्डपबाटै वालविवाह रोकेको कुरा सम्झदै अहिले पनि ग्रामीण भेगमा यो समस्या जारी रहेको बताइन्।
चौधरी अहिले पनि मानव अधिकारका क्षेत्रमा कार्यरत थिइन्।युथ एडभोकेसी नेपाल नामक संस्थाकी संस्थापक समेत रहेकी उनी वकालतसँगै मानव अधिकारका क्षेत्रमा कार्यरत थिइन्। आगामी दिनमा पनि मानव अधिकारका विषयमा आफ्नो पैरवी रहने उनले बताइन्।

