शुक्र, असार ५, २०८३

स्थानीय आन्दोलनको पहिलो सफलता : वडा सचिव नियुक्त, सडक समस्या जस्ताको तस्तै


कञ्चनपुर — भीमदत्त नगरपालिका–०९ मा वडा सचिवको अभाव र खल्ला जाने सडक खण्डको समस्या समाधानको माग गर्दै स्थानीयले दिएको ७ दिने अल्टिमेटम तथा आन्दोलन घोषणाको प्रभाव देखिन थालेको छ। आन्दोलन घोषणा भएको ३ दिन नबित्दै वडा कार्यालयले नयाँ वडा सचिवका रूपमा उपेन्द्र प्रसाद मिश्र लाई जिम्मेवारी दिएको छ।

लामो समयदेखि वडा सचिव नहुँदा प्रशासनिक काम प्रभावित भएको भन्दै स्थानीयले आन्दोलन घोषणा गरेका थिए। स्थानीयको दबाब र जनचासो बढेसँगै वडा सचिवको व्यवस्था गरिएको मानिएको छ। यससँगै सिफारिस, प्रशासनिक सेवा तथा अन्य दैनिक कामकाज सहज हुने अपेक्षा गरिएको छ।

यद्यपि आन्दोलनको अर्को मुख्य माग रहेको खल्ला जाने सडक खण्डको समस्या भने अझै समाधानको पर्खाइमै रहेको स्थानीयको गुनासो छ। सडकको अवस्था कमजोर हुँदा सर्वसाधारणलाई दैनिक आवतजावतमा कठिनाइ भइरहेको, वर्षाको समयमा हिलो तथा जोखिम थप बढ्ने गरेको स्थानीय बताउँछन्।

स्थानीयवासीका अनुसार वडा सचिव ल्याइनु सकारात्मक कदम भए पनि आन्दोलनको उद्देश्य केवल कर्मचारी व्यवस्थापन मात्र नभई आधारभूत पूर्वाधार सुधार पनि रहेको हो। सडक मर्मत तथा दीर्घकालीन समाधानका विषयमा सम्बन्धित निकायबाट हालसम्म स्पष्ट योजना नआएको उनीहरूको भनाइ छ।

एक स्थानीयले भने,“हाम्रो आवाजपछि वडा सचिव आउनु राम्रो कुरा हो, तर मुख्य समस्या सडक नै हो। सडकको समाधान नभएसम्म हाम्रो माग पूरा भएको मान्न सकिँदैन।

”स्थानीयले सम्बन्धित निकायलाई तत्काल सडक मर्मत, बजेट सुनिश्चितता तथा स्पष्ट कार्ययोजना सार्वजनिक गर्न आग्रह गरेका छन्। वडा सचिव नियुक्तिसँगै अब सडक समस्या समाधानतर्फ पनि सक्रियता देखाइने अपेक्षा गरिएको छ।स्थानीयको चासो अहिले एउटै प्रश्नमा केन्द्रित छ— वडा सचिवपछि अब सडक कहिले बन्छ ?

सम्बन्धित समाचार