कञ्चनपुर, असोज २ । १३औँ राष्ट्रिय परिवार योजना दिवस तथा ६७औँ नेपाल परिवार नियोजन संघ कंचनपुरको स्थापना दिवसको अवसरमा लक्षित समूह (Key Population) केन्द्रित यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सेवामा पहुँच कम भएका अपाङ्गता भएका व्यक्ति, लक्षित समूह केन्द्रित वर्ग, परिवार नियोजन संघमा आबद्ध व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, स्वास्थ्य कार्यालय कञ्चनपुर, भीमदत्त नगरपालिका तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा लक्षित समूहसम्म सहज रूपमा पुर्याउने, सेवा प्राप्तिका क्रममा देखिएका समस्या समाधान गर्ने तथा स्वास्थ्य सेवामा सबैको समान पहुँच सुनिश्चित गर्ने विषयमा छलफल गरिएको थियो।
नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखाका सभापति गिरिराज शर्माले परिवार योजना तथा यौन तथा प्रजनन स्वास्थ्य सेवा सबै नागरिकका लागि आवश्यक रहेको बताउँदै सेवाबाट पछाडि परेका समुदायलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले लक्षित समूहका वास्तविक समस्या पहिचान गरी सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।संघका कार्यालय प्रमुख बासुदेव विष्टले लक्षित समुदायले स्वास्थ्य सेवा लिने क्रममा भोगिरहेका समस्या र कठिनाइबारे जानकारी लिँदै सेवा प्रवाहलाई थप सहज बनाउन अन्तरक्रिया महत्वपूर्ण रहेको बताउनुभयो।
स्वास्थ्य सेवाको पहुँचबाट कुनै पनि व्यक्ति वञ्चित हुन नहुने उहाँको भनाइ थियो।स्वास्थ्य कार्यालय कञ्चनपुरका फोकल पर्सन सिद्धराज भट्टले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा र सूचनामा लक्षित समूहको पहुँच बढाउन स्वास्थ्य संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
सेवाका बारेमा पर्याप्त जानकारी र सहज पहुँचको वातावरण बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो।त्यस्तै भीमदत्त नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख कुन्ती लेखकले अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक लगायत लक्षित समुदायका विशेष आवश्यकता सम्बोधन गर्न स्थानीय तह, स्वास्थ्य संस्था तथा सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
स्वास्थ्य सेवामा विभेदरहित पहुँच सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।कार्यक्रममा सहयात्रा नेपाल, अपाङ्ग सेवा संघ लगायतका प्रतिनिधिहरूले समेत लक्षित समूहले स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा भोग्दै आएका समस्या, सेवा पहुँचका चुनौती तथा सुधार गर्नुपर्ने विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा सहभागीहरूले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना तथा सेवा सहज रूपमा उपलब्ध गराउने, स्वास्थ्य संस्थामा मैत्रीपूर्ण वातावरण निर्माण गर्ने, अपाङ्गतामैत्री सेवा सुनिश्चित गर्ने तथा लक्षित समूहको आवश्यकता र समस्यालाई स्वास्थ्य कार्यक्रमसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सहभागीहरुले ‘विपद् होस् या सामान्य अवस्था, परिवार योजना सबैको आवश्यकता’ भन्ने मूल नारासहित आयोजित अन्तरक्रिया कार्यक्रमले परिवार योजना तथा यौन तथा प्रजनन स्वास्थ्य सेवामा लक्षित समुदायको पहुँच र अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताएका छन।

