शुक्र, साउन २९, २०८३

ओल्के हेरिटेज राइड महेन्द्रनगरमा हुँदै


कञ्चनपुर, साउन ३० । फार वेस्टर्न राइडर्सको आयोजना तथा निसर्ग हस्पिटलको सहयोगमा ‘ओल्के हेरिटेज राइड’ भोलि महेन्द्रनगरमा आयोजना हुँदैछ। ओल्के पर्वको मौलिक संस्कृति, परम्परा र खानपानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले राइड आयोजना गर्न लागिएको हो।राइड सिद्धनाथ मन्दिर, महेन्द्रनगरदेखि सिद्धनाथ मन्दिर, ब्रह्मदेवसम्म सञ्चालन हुनेछ।

राइड सुरु गर्नुअघि सहभागीहरूले ओल्के पर्वका परम्परागत परिकार पकाएर सामूहिक रूपमा खानाका साथै पर्वको सांस्कृतिक महत्वलाई आत्मसात् गर्ने कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ।राइडमा करिब ४० देखि ५० जना साइकल यात्री सहभागी हुने अपेक्षा गरिएको छ भने व्यवस्थापन तथा सहजीकरणका लागि १० देखि २० जना स्वयंसेवक परिचालन गरिनेछ।

कार्यक्रममा सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने छलिया नृत्य तथा मौलिक बाजागाजा समेत प्रस्तुत गरिनेछ। साथै विभिन्न स्थानबाट सहभागीहरू राइडमा सहभागी हुने आयोजकले जनाएको छ।आयोजक फार वेस्टर्न राइडर्सले ओल्के पर्वको मौलिकता, स्थानीय संस्कृति र परम्परालाई उजागर गर्ने यस विशेष कार्यक्रममा महेन्द्रनगरवासी तथा सम्पूर्ण साइकलप्रेमीहरूलाई उत्साहजनक सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ।

ओल्के पर्वको संस्कृति, परम्परा र उत्सवलाई साइकल यात्रामार्फत जोड्दै आयोजना हुन लागेको ‘ओल्के हेरिटेज राइड’ ले सुदूरपश्चिमको मौलिक पहिचानलाई अझ व्यापक रूपमा प्रचार गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार