कल्पना साउद/कञ्चनपुर, फागुन१ – नेपालमा बेरोजगारीको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। शिक्षित तथा अशिक्षित दुवै वर्गका युवाहरूलाई नेपालमा स्थिर रोजगार पाउन कठिन भएको छ। यही कारण लाखौं नेपाली युवा हरेक वर्ष रोजगारीको खोजीमा विदेशिने गरेका छन्। यो बाध्यता हो कि विकल्प?
कञ्चनपुरका २६ वर्षीय रोहित दमाई विगत तीन महिनादेखि जागिरको खोजीमा छन्। आर्थिक अभावकै कारण उनले औपचारिक पढाइ नौं कक्षा पछि नै छाडे। मजदुरी गरेर परिवार पाल्न कठिन भएकाले अन्ततः विदेश जाने सोच बनाएको उनले बताए।
“सरकारले रोजगारी सिर्जना गर्छ भन्छ, तर म जस्तै हजारौं युवा बेरोजगार छन्। सरकारी योजना हामीसम्म आइपुग्दैन। नेपालमा मैले पाउने ज्याला दस–पन्ध्र हजार मात्र छ, त्यसले परिवार पाल्न गाह्रो छ। विदेश गए दोब्बर कमाई हुन्छ भन्ने आशामा छु,” रोहित भन्छन्।
उनकै जस्तै कथा सुनाउने सयौं युवा कञ्चनपुरमा मात्रै होइन, देशभर छरिएका छन्। काम गर्ने इच्छाशक्ति हुँदाहुँदै पनि उपयुक्त अवसर नपाउँदा उनीहरू वैदेशिक रोजगारीलाई रोज्न बाध्य छन्।
विदेशिनु मात्र समाधान हो त? विदेशबाट फर्किएका युवा भन्छन्— ‘सपना देखे जस्तो विदेश हुँदैन!’दुबईमा चार वर्ष बिताएर केही महिनाअघि नेपाल फर्किएका कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १८ का गणेश कुमार सुनार भन्छन्,
“विदेश सोचे जस्तो सजिलो छैन। त्यहाँ काम अनुसारको दाम पाइँदैन, मानसिक तनाव झेल्नुपर्छ। खाडी मुलुकमा गर्मी, कठोर श्रम, र नजिक कोही आफन्त नभएकाले धेरैले कठिनाइ भोगेका छन्। विदेश जानु छ भने सीप सिकेर जानुपर्छ, नत्र नेपालमै अवसर खोज्नुपर्छ।”
गणेशले विदेशमा कमाएको पैसा नेपालमा व्यापारमा लगानी गरे। तर अनुभव र व्यावसायिक सीपको अभावका कारण नोक्सानी भयो। अहिले उनी फेरि कोरियाको भाषा सिकेर पुनः विदेश जाने तयारी गरिरहेका छन्। “सरकारले दक्ष सीप सिकाएर नेपालमै रोजगारको अवसर सिर्जना गरिदिए म यहीँ बस्न चाहन्छु। तर विकल्प नभए विदेश जानु बाध्यता नै हो,” उनले भने।
महेन्द्रनगरका भुवनेश्वर झा, जो भुवनेश्वर फर्निचर उद्योगका सञ्चालक हुन्, नेपालमै रोजगारीको सम्भावना रहेको बताउँछन्।
“हामीले १२ जनालाई रोजगारी दिएका छौँ। तर नेपालमा दक्ष कामदार नपाउँदा ९ जना भारतीय कामदार राख्नुपरेको छ। नेपाली युवा दक्ष सीप नलिएरै विदेश जान चाहन्छन्। सरकारले सही नीति ल्याए रोजगार सिर्जना गर्न सकिन्छ,” उनी भन्छन्।
उनका अनुसार, सरकारले उद्यमशीलतालाई प्रवर्द्धन गर्न सहुलियतपूर्ण ऋण, कर छुट, तथा सीपमूलक तालिम दिए स्वदेशमै रोजगारीको अवसर बढाउन सकिन्छ।
संघीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम १०० दिनको अस्थायी रोजगारी दिने योजना छ। स्थानीय तहहरूले श्रम डेस्क स्थापना गरी सीपमूलक तालिम सञ्चालन गरिरहेका छन्। भीमदत्त नगरपालिकाका रोजगार शाखाका सब-इन्जिनियर कमल राम वि.क भन्छन्,
“हामी स्थानीय तहमा बेरोजगारलाई सीपमूलक तालिम र उद्यम प्रवर्द्धनका कार्यक्रम दिइरहेका छौँ। अब साक्षर बेरोजगारका लागि विशेष योजना ल्याउने तयारीमा छौँ।”
विदेशिनु बाध्यता कि विकल्प?
नेपालमा बेरोजगारीको समस्या जटिल बन्दै गइरहेको छ। सीपमूलक तालिमको अभाव, औद्योगिक विकासको सुस्त गति, उद्यमशीलता प्रवर्द्धनमा सरकारले पर्याप्त ध्यान नदिँदा लाखौं युवा हरेक वर्ष विदेशिन बाध्य छन्।
तर विदेशिनु मात्रै समाधान होइन। यदि सरकारले स्थानीय उत्पादनमा लगानी बढायो, साना तथा ठूला उद्योगहरू प्रवर्द्धन गर्यो, सीपमूलक तालिमहरू प्रभावकारी बनायो, र स्वरोजगारका लागि सहुलियतपूर्ण ऋण प्रदान गर्यो भने नेपालमै रोजगारीको वातावरण बन्न सक्छ।
युवाहरू विदेश जान चाहन्छन् कि नेपालमै केही गर्न चाहन्छन् भन्ने प्रश्नको उत्तर सरकारको नीतिमा भर पर्छ। विदेशिनु बाध्यता मात्रै नभई विकल्प बन्न सक्छ यदि सरकारले वैकल्पिक अवसरहरू सिर्जना गर्न सक्यो भने।

