काठमाडौं , साउन १३देशमा बलियो सरकार आएको छ, सुशासन र दीगो विकास सम्बृद्धिको लक्ष्य अघि सारेको सरकारलाई चुनौती दिएर केही निजामती कर्मचारी भ्रष्टाचार गर्न उद्यत छन । घुस खानेदेखि भ्रष्टाचारमा लिप्त कर्मचारी अख्तियारको फन्दामा पर्दै आएका छन । झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजय कुमार साहलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग अनावश्यक दुःख–हैरानी दिई घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले सोमबार साहलाई नियन्त्रणमा लिएको हो।वडा सचिव साहलाई सेवाग्राहीबाट रु. १० हजार घुस लिइसकेको अवस्थामा सोही वडास्थित एक होटलबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
यसैविच अध्यागमन विभागका कम्प्युटर अपरेटर र एक अमेरिकी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। भिसा नै कीर्ते गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । कम्प्युटर अपरेटर राजीव महतो र अमेरिकी पर्यटक डिन जे रबिन्सनविरुद्ध मुद्दा दायर भएको हो।
कम्प्युटर अपरेटर महतोले ०८० सालको फागुनमा ती अमेरिकी नागरिकलाई गैरकानुनी रुपमा आवासिय भिसा उपलब्ध गराएका थिए। नेपालमा आवासिय भिसामा बस्दै आएका लम्जेकबर्गका नागरिकको भिसासम्बन्धि अभिलेख कीर्ते गरी उनलाई भिसा दिइएको थियो। अध्यागमन विभागको सूचना प्रणालीमा रहेको ट्राभलर सेन्ट्रलाइजेसन दुरुपयोग गरी उनले भिसा कीर्ते गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए। यसरी कर्मचारी भ्रष्टाचारमा लिप्त भएपछि जनता हैरान भएका छन ।

