लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र पर्यटन व्यवसायीको हकहितका लागी लुम्बिनी प्रदेशका पर्यटन व्यवसायी एकजुट भएका छन् ।
प्रदेशका जिल्लास्थित पर्यटन गन्तव्य पहिचान गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशका १२ जिल्ला समेटेर पर्यटन प्रवर्द्धन गर्न पहिलोपटक होटेल संघ नेपाल, लुम्बिनी प्रदेश तदर्थ समिति गठन गरिएको छ ।
रुपन्देहीका स्थापित पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठको अध्यक्षतामा गठित तदर्थ समितिको वरिष्ठ उपाध्यक्ष बुटवलका प्रवीणबहादुर पाठक, प्रथम उपाध्यक्ष भैरहवाका हरिबहादुर थापा, द्वितीय उपाध्यक्ष बुटवलका अनिलप्रसाद श्रेष्ठ, महासचिवमा टेकनाथ बस्याल छन् ।
यस्तै, समितिको कोषाध्यक्षमा सुशान्त त्रिपाठी, सचिवमा दिलीप गौचन र सदस्यमा प्रणदा दीक्षित, दाङबाट ओविन्द्र महरा, पाल्पाबाट धीरेन प्रधान र कमल पौडेल, नेपालगन्जबाट गिरिराज पाण्डे, कपिलवस्तुबाट लक्ष्मण भण्डारी, दुर्गा बस्याल, बर्दियाबाट पदमवीर थापा र भैरहवाबाट निर्मल श्रेष्ठ रहेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका पर्यटकीय गन्तव्यमा पर्यटकको बसाइ लम्ब्याउन सुविधासम्पन्न होटेल सञ्चालन आवश्यक रहेको बताए ।

