महेन्द्रनगर । बेलडाँडी गाउँपालिकामा जनप्रतिनिधिको आन्तरिक आम्दानी हाराहारीमा पदाधिकारी सुविधा खर्च भएको छ ।महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०८०÷०८१ को लेखा परीक्षणमा पदाधिकारी सुविधामा ५९ लाख ९२ हजार ९ सय ७० रुपैँया खर्च भएको छ ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ मा प्रमुख प्रशासकीय अधिकृतले बजेट खर्च गर्दा नियमितता मितव्ययिता, कार्यदक्षता र औचित्य समेत कायम राख्न व्यवस्था मिलाउनु पर्ने व्यवस्था छ ।महालेखाले गाउँपालिकालाई आन्तरिक आम्दानीको आकार, कर्मचारी तथा पदाधिकारी सुविधाबीच तादाम्यता मिलाएर चालु खर्चलाई व्यवस्थित र मापदण्डमा आधारित बनाउनु पर्ने सुझाव दिएको छ ।बेलडाँडी गाउँपालिकामा पदाधिकारी सुविधा लिनेमा अध्यक्ष उपाध्यक्ष सहित ५ वडाका अध्यक्ष र सदस्य छन् । बेलडाँडी गाउँपालिकाको जनसंख्या २९ हजार ४ सय २८ छ ।आर्थिक वर्ष २०८०÷०८१ मा ६७ करोड १ लाखको लेखा परीक्षण गरिएको थियो । यसमा २ करोड ७२ लाख बेरुजु देखिएको छ । गाउँपालिकाको आन्तरिक आम्दानी ७७ लाख भएको लेखा परीक्षणमा प्रतिवदेनमा उल्लेख गरिएको छ ।

