बेलडाँडी, कञ्चनपुर — कञ्चनपुरमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । आइतबार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलका सम्झना भट्ट झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार सम्झनाको गत फागुनमा पवन भट्टसँग प्रेम विवाह भएको थियो।सम्झनाका बुवा भोजराज भट्टले सम्बन्ध सार्वजनिक भएपछि सामाजिक दबाबका कारण विवाह गराइएको जानकारी दिएका छन्।विवाहपश्चात् उनीहरु बीचको सम्बन्धमा दरार आउन थालेको र पछिल्लो समयमा झगडासमेत हुने गरेको बुझिएको छ।
घटनाको अघिल्लो दिन दम्पतीबीच विवाद चर्किएपछि दुवैजना इलाका प्रहरी कार्यालय बेलडाँडी पुगेका थिए। प्रहरीले सम्झाइबुझाइ गरी दुवैलाई घर पठाएको थियो।तर त्यसको भोलिपल्ट सम्झनाले आफन्तलाई पठाएको सन्देशमा श्रीमान्ले निरन्तर दुःख दिँदै आएको बताउँदै “अब बाँच्न सक्दिन” भन्ने आशय उल्लेख भएको स्रोतले जनाएको छ।
झुण्डिनुअघि उनले आफन्तसँग भिडियो कलसमेत गरेको बताइएको छ।घटनापछि सम्झनाको शवमा चोटपटकका चिन्ह देखिएको र मानसिक तथा शारीरिक यातनाका कारण आत्महत्या गर्न बाध्य पारिएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार सम्झनाका श्रीमान पवन भट्टलाई हाल सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।
सम्झनाका बुवाले छोरीमाथि पटक–पटक मानसिक र शारीरिक यातना दिइएको आरोप लगाउँदै निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
“उमेरले सानी छोरीलाई माया गर्ने र बचाउने बेला थियो, तर उल्टै सबैले पीडा दिए। हामी अब न्यायको पर्खाइमा छौं,” उनले भावुक हुँदै भने।प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ।

