कञ्चनपुर, २५वैशाख । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय, कञ्चनपुरको आयोजनामा ‘पालिका तथा गैरसरकारी संस्थाको सहकार्यमा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा तथा विद्यार्थी भर्ना अभियान’ विषयक कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा बेलडाँडी गाउँपालिका अन्तर्गतका शिक्षा क्षेत्रसँग सरोकार राख्ने विभिन्न पक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ र त्यसको कार्यान्वयन सम्बन्धी विधि, नीति तथा योजनाका विषयमा जानकारी प्रदान गरिएको थियो ।
बेलडाँडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले ऐनका मुख्य प्रावधान र कार्यान्वयन प्रक्रिया प्रस्तुत गर्दै विद्यालयले कुनै बालबालिकालाई भर्ना गर्न अस्वीकार गर्न नपाउने, निष्कासन गर्न नपाउने र पुनः भर्ना गराउनु पर्ने कानुनी व्यवस्था सबैले पालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सामाजिक विकास कार्यालयका प्रमुख गोपाल दत्त जोशीले शिक्षा मन्त्रालयले तयार पारेको कार्यान्वयन कार्ययोजनाबारे जानकारी दिँदै २०८५ सालसम्म सबै बालबालिकालाई आधारभूत शिक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
“यदि त्यस अवधिसम्म शिक्षाबाट वञ्चित भए, ती बालबालिका राज्यका सेवाबाट वञ्चित हुनेछन्,” उहाँले स्पष्ट पार्नुभयो ।शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले संविधान, शिक्षा नीति २०७६, स्थानीय सरकार सञ्चालन ऐन २०७४, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ र कार्यान्वयन योजना २०८१ का प्रमुख बुँदाहरू प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हरिचन्द्र रानाले पालिकाले शिक्षा क्षेत्रमा निरन्तर सुधारका लागि पहल गरिरहेको बताउँदै शिक्षाको हक कार्यान्वयनमा सबै सरोकारवालाहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । “निजी र सामुदायिक विद्यालयलाई समान व्यवहार गर्दै पालिका सधैँ बालबालिकाको हकहितका लागि प्रतिबद्ध छ,” उहाँले भन्नुभयो ।
गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पालिकाले शिक्षालाई सामाजिक रूपान्तरणको आधार मानेर नीति तथा कार्यक्रम निर्माण गरिरहेको बताउँदै अभिभावक, शिक्षक र समुदाय सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
गाउँपालिका प्रवक्ता गजबहादुर बिष्टले सबै बालबालिकाको शिक्षा सुनिश्चित गर्नु पालिकाको प्रमुख दायित्व भएको उल्लेख गर्दै स्थानीय तहले ऐन र नीतिको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले विभिन्न जिज्ञासा, सुझाव र प्रतिक्रिया राखेका थिए । कार्यक्रमको सहजीकरण बेलडाँडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर, स्थानीय जनप्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, सिकाइ केन्द्रका प्रमुख, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघ (पिटिए) का अध्यक्षहरू, प्याब्सन तथा एनप्याब्सनका प्रतिनिधि, पालिकाका कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

