काठमाडौं । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरे।
सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकहरूका माग सम्बोधन गर्न आदेश दिएसँगै नवनियुक्त शिक्षा मन्त्री पन्तले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर वार्ताका लागि आह्वान गरेका हुन ।
वार्ताका लागि बोलाएपनि तर वार्ता हुन सकेन ।
वार्ता हुन नसकेपछि शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले फेसबुकमा स्टाटस पोस्ट गरेका छन ।
शिक्षा मन्त्री पन्तसँग वार्ता गर्न जान लागेको टोली शिक्षक महासंघले तयार नपारेको उल्लेख गर्दै सुवेदीले स्ट्याटस लेखे ।
‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं।
वैशाख १२ गते नवनियुक्त मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं,’ अध्यक्ष सुवेदीले लेखेका छन्।
शिक्षा मन्त्रीको सचिवालयले वार्तामा आउन लागेका २५ जनाको नाम सिंहदरबार गेटमा पठाएको थियो। वार्ताका लागि गएका शिक्षक महासंघका कतिपय व्यक्तिहरूको नाम मन्त्रालयले पासका लागि पठाएको सूचीमा थिएन।

