बिहि, असार ४, २०८३

इमोह र मणिकुमारको गोलमा ललितपुर विजयी, चितवन पहिलो हारको सामना”


काठमाडौं।साबिक विजेता ललितपुर सिटीले बिहीबार अपराजित रहेको एफसी चितवनलाई २–१ ले निराश बनाउँदै तेस्रो नेपाल सुपर लिगमा महत्वपूर्ण जित निकालेको छ ।

जितसँगै ललितपुर शीर्ष स्थानमा उक्लेको छ । चितवनको अपराजित यात्रामाथि पूर्णविराम लगाएको ललितपुरले चार खेलबाट ८ अंक जोडेको छ । दोस्रो स्थानमा झरेको चितवनले चार खेलबाट ७ अंक बटुलेको छ । ललितपुरको जितमा इमोह इजेकियल र मणिकुमार लामाले समान एक गोल गरेका थिए ।

प्रतिस्पर्धामा मणिकुमारले नै इमोहको गोलमा असिस्ट गरेका थिए । चितवनका लागि भिक्टर मानसेरले एक गोल फर्काए । दशरथ रंगशालामा ललितपुरले च्याम्पियन शैलीमा चितवनमाथि सुरुदेखि नै दबाब बनाएको थियो ।

खेलको तेस्रो मिनेटमै ललितपुरले १–० को अग्रता लियो । मणिकुमारले पोस्टभन्दा लगभग ३० यार्ड टाढाबाट प्रहार गरेको उत्कृष्ट फ्रिकिकमा इमोहले हेडिङ गोल गरेका थिए । यसअघि खेलको दोस्रो मिनेटमा चितवनका गोलरक्षक अमल नाइटले ललितपुरका इबाउविरुद्धको वान भर्सेज वानमा खतरा टालेका थिए ।

प्रतिस्पर्धाको १२औँ मिनेटमा ललितपुरका मणिकुमारले डिबक्सभित्रबाट प्रहार गरेको बललाई गोलरक्षक नाइटले बचाएका थिए । खेलको १२ मिनेटसम्म फर्ममा देखिएको चितवनले ललितपुरविरुद्ध खासै मुभ निकाल्न सकेन । अधिकांश समयमा ललितपुरले चितवनमाथि दबाब राखेको थियो ।

पहिलो हाफमा चितवनले इन्जुरी समयमा एक मात्र बराबरी गोल प्रयास गरेको थियो । इन्जुरी समयको पहिलो मिनेटमा शिशिर लेखीको पासमा भिक्टर मानसेरको हेडिङलाई गोलरक्षक जाफ्रे बाल्टसले बचाएका थिए ।

दोस्रो हाफमा चितवनको बराबरी गोल

दोस्रो हाफमा चितवनले खेलमा सुधार ल्यायो । खेलको ७५औँ मिनेटमा चितवनले १–१ को बराबरी गोल फर्कायो । भिक्टरले रिबाउन्डमा डिबक्सभित्र सहजै गोल गरी चितवनलाई जितको आशा दिलाए ।

भिक्टरले छिरिङ गुरुङको क्रसमा गोल गरेका हुन् । तर, ललितपुरले भिक्टरले गोल गरेको पाँच मिनेटपछि नै दोहोरो अग्रता लियो । खेलको ८०औँ मिनेटमा मणिकुमारले ललितपुरलाई २–१ को स्थितिमा राखे । प्रतिस्पर्धाको अन्तिम इन्जुरी समयमा ललितपुरले अग्रता लिने मौका खेर फाल्यो ।

अनिश घर्तीले चितवनका गोलरक्षकसँगको वान भर्सेज वानमा गोल गर्न सकेनन् । यसअघि ललितपुरले पोखरामाथि ३–२ को कठिन जित निकालेको थियो ।

लिगको उद्घाटन खेलमा ललितपुरले काठमाडौंसँग २–२ को बराबरी खेलेको थियो । ललितपुर धनगढीसँग गोलरहित बराबरीमा रोकिएको थियो । चितवनले पोखरामाथि २–० र बुटवल लुम्बिनीलाई १–० ले हराएको थियो । चितवन झापा एफसीसँग १–१ को बराबरीमा रोकियो ।

सम्बन्धित समाचार

Leave a Reply