बिहि, असार ४, २०८३

“नेपालको शानदार टी–२० विजय: कतारलाई ८ विकेटले पराजित”


काठमाडौं।नेपालले अन्तर्राष्ट्रिय टी २० शृंखलामा विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्यो । जितपछि नेपालले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

हङकङको मोङककमा टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै जित निकाल्यो ।

नेपालको लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ८१ रनको बलियो साझेदारी गरेका थिए । भुर्तेलले १९ बलमा चार चौका र ३ छक्कासहित सर्वाधिक ३८ रन बनाएका थिए ।

आसिफले २१ बलमा चार चौकासहित ३३ रन बनाएका हुन् । कप्तान रोहितकुमार पौडेलले अविजित ३७ तथा बसिर अहमदले पनि अविजित ३० रन जोडेका थिए ।

कतारका मुजिव उर रहमानले दुई विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङ गरेको कतारको लागि तेस्रो नम्बर क्रिजमा आएका कप्तान इक्रमुल्लाह खानले ५४ बलमा ५४ रन बनाए ।

यसक्रममा ५ चौका र २ छक्का हिर्काएका थिए । सहजाइव जमिलले ३१, रहमानले २० रनको योगदान गरेका थिए । नेपालका करण केसी, सोमपाल कामी, डेब्यु गरेका नन्दन यादव, गुल्शन झा र ललितनारायण राजवंशीले समान एक विकेट हात पारेका थिए । चार ओभर नै बलिङ गरेका दीपेन्द्रसिंह ऐरी २६ रन खर्चिँदा विकेट विहिन भएका छन् ।

अब, नेपालले दोस्रो खेलमा बिहीबार कुवेतसँग खेल्ने तालिका छ । त्यसपछि शनिबार हङकङ सँग खेल्ने छ । तालिकाको शीर्ष दुई टिमले सिधै फाइनल खेल्नेछन् ।

सम्बन्धित समाचार

Leave a Reply