महेन्द्रनगर । कर्पोरेट कप सुपर सिक्स क्रिकेट टुर्नामेन्टको उपाधि नविल बैंकले हात पारेको छ । भीमदत्त नगरपालिकासंग भएको फाइनल खेलमा भीमदत्तलाई चार विकेटले पराजित गर्दै नविलले उपाधी हात पारेको हो ।
नविलले नगद रु ८८ हजार आठ सय ८८ र ट्रफी हात पारेको छ । भीमदत्तले दिएको ५८ रनको लक्ष्य नविल बैंकले पाँच दशमलव दुइ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो । नविल बैंकले गणेश वहादुर धामीले सर्वाधिक २६ रन बनाए । त्यसैगरि निरज भट्टले २१ रनको योगदान गरे भने गणेश बहादुर चन्दले १० रनको योगदान गरे।
बलिङमा भीमदत्तका सगुन सुवेदीले एक विकेट हात पारे ।त्यसअघि ब्याटिङ्ग गरेको भीमदत्त नगरपालिकाले निर्धारित ६ ओभरमा तीन विकेट गुमाएर ५७ रन मात्रै बनाएको थियो । भीमदत्तका लागि विरेन्द्र सार्कीले सर्वाधिक ३० रनको योगदान गरेका थिए ।
यसैगरि हेमन्त प्वालीले १७ रन बनाए भने लोकराज पन्तले ६ रनको योगदान गरे । बलिङ्गमा नविल बैंकका निरज भट्टले दुई विकेट लिए भने राजिभ भट्टले एक विकेट लिए ।उक्त खेलमा नविल बैंकका निरज भट्ट प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिताको उपविजेता बनेको भीमदत्त नगरपालिकाले ४४ हजार ४ सय ४४ र ट्रफि हात पारेको छ ।
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि नेकपा एमालेका कञ्चनपुर ईन्चार्ज निरु पालले विजेता र उपविजेता टोलीलाई नगद पुरस्कार र ट्रफि प्रदान गरिन् ।कार्यक्रममा बोल्दै उनले आफुले क्रिकेटको विकासको लागि पहल गर्ने बताइन् । “क्रिकेटले हाम्रो मुलुकको नाम विश्वमा चिनाएको छ ।” उनले भनिन्, “नेपालले क्रिकेटमा अमेरीकालाई समेत पराजित गरेको छ ।
” उनले यहाँ क्रिकेट प्रतियोगिताका लागि खेल मैदान अभाव रहेकाले खेल मैदानको लागि आफुले पहल गर्ने बताइन् ।कार्यक्रमका सभापति जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष विरेन्द्र वहादुर चन्दले जिल्ला क्रिकेट संघले क्रिकेटको विकासका लागि जिल्लामा प्रतियोगिताहरु सञ्चालन गरिरहेको बताए ।
“जिल्लामा खेलका पूर्वाधारको अभावका बीच पनि हामीले ग्रास रुटमा क्रिकेटको विकासका लागि विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएका छौ ।” चन्दले भन्नुभयो–“क्रिकेटको विकासका लागि राज्यको ध्यान धान जरुरी छ ।
”कार्यक्रममा सुदूरपश्चिम प्रादेशीक क्रिकेट संघका सचिव लक्ष्मण भट्ट सदस्य आशिष खत्री, क्रिकेट संघका पदाधीकारी लगायत अन्य विशिष्ट व्याक्तित्वहरुको सहभागिता रहेको थियो । जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा फागुन १६ गतेदेखी सुरु भएको प्रतियोगितामा २० वटा टीमको सहभागिता रहेको थियो ।

