नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना दलहरूको संरक्षक आफू नै रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्यालीलाई रुकुमकोटमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वरिष्ठ नेताहरूमध्येमा जनताले आफूलाई मात्र जिताएर पठाएको कारण अब सबै दलको संरक्षणको काम आफूले गर्ने उनको भनाइ छ । ‘अहिले देशमा राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चलेको छ । त्यसको जिम्मा पनि आफूले नै लिनुपर्दछ भन्ने कुराको महसुस गरेको छु,’ उनले भने । हिजो एमाले–कांग्रेसलाई दुईतिहाइको अहंकार नगर्नुस् है गल्ती हुन्छ भनेर बारम्बार संसद्मा बोलिरहेको बताउँदै भ्रष्टाचारविरुद्ध लड्दै गर्दा, विकास र समृद्धिका लागि लड्दै गर्दा संख्याको अहंकारले आफूलाई बाहिर पठाएको उनले स्मरण गरे । संयोजक प्रचण्डले भने, ‘त्यही वेलामा मैले चुनौतीका साथ भनेको थिएँ संख्याले केही नापिँदैन । बंगलादेशमा एउटै पार्टीको दुईतिहाइ हुँदा पनि हालत के भयो देखिएकै छ ।’ अहिले विजयी हासिल गरेका नयाँ पार्टीलाई बधाई दिँदै उनले त्यही अहंकार नयाँ दलले दोहोर्याए भने देशका लागि दुर्भाग्य हुन जाने उनको चेतावनी छ । धेरै सिट ल्याएका दलहरूलाई अहंकारबाट बच्न उनले अनुरोध गरेका छन् । ‘मेरो इतिहासको आधारमा म तपाईंहरूका लागि धेरै ठुलो गुरु हुन सक्छु,’ संयोजक प्रचण्डले भने, ‘तपाईंहरूको जस्तै लहर मैले ०६४ मै देखिसकेको छु ।’ त्यसैले नयाँ दलहरूलाई पनि आफूले राम्रोसँग नेतृत्व दिनुपर्दछ भन्ने महसुस गरेको भनाइ उनको थियो । रुकुम पूर्वले भारी मतले यो निर्वाचनमा जिताएर ठुलो भारी बोकाएको बताउँदै संयोजक दाहालले देशकै ठुलो जिम्मेवारी काँधमा आएको महसुस गरेको बताए ।पूर्वप्रधानमन्त्रीहरूमध्येमा अहिले आफू मात्र विजयी हुने विचित्रको स्थिति आएको बताउँदै उनले इतिहासलाई बोकेर हिँड्नुपर्ने बताए । जनयुद्ध र जनआन्दोलनको इतिहास, शान्ति प्रक्रिया टुंग्याएर यो देशमा स्थायित्वको निम्ति भए पनि आफूले निकै ठुलो भारी बोक्नुपर्ने स्थिति आएको उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्रीमध्ये म मात्र निर्वाचित हुने अवस्था आयो, अब नयाँ र पुराना दलका संरक्षक म नै हो : प्रचण्ड

