शनि, जेष्ठ २३, २०८३

समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि नमुना विद्यालय भ्रमण कार्यक्रम सम्पन्न


कञ्चनपुर समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि गैर–नमुना विद्यालय प्र.अ.को नमुना विद्यालय भ्रमण सम्पन्न कार्यक्रम भएको छ। युरोपियन युनियनको आर्थिक सहयोगमा सेभ द चिल्डेन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) द्वारा कार्यान्वित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत बेलडाँडी गाउँपालिकाका ११ वटा गैर–नमुना विद्यालयका प्राचार्य तथा प्रतिनिधिहरूको सहभागितामा एक दिने नमुना विद्यालय भ्रमण कार्यक्रम सम्पन्न भएको हो।भ्रमण टोलीले श्री सरस्वती जनता माध्यमिक विद्यालय, श्री रौलेश्वर माध्यमिक विद्यालय तथा श्री सरस्वी माध्यमिक विद्यालय भर्नासागरमा अवलोकन तथा अनुभव आदान–प्रदान गरेको थियो। सो अवसरमा नमुना विद्यालयका प्राचार्यहरूले विद्यालयको ऐतिहासिक विकास, भौगोलिक अवस्थिति, सामाजिक–आर्थिक पृष्ठभूमि, शिक्षक दरबन्दी, भौतिक पूर्वाधार, शैक्षिक उपलब्धि, वार्षिक तथा पंचवर्षीय योजना (२०८२ मा अद्यावधिक) लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरेका थिए।त्यसैगरी, एनएनएसडब्लुएका प्रतिनिधिहरूले कार्यगत सीमितता फारम, कक्षाकोठाभित्र विविधता–अनुसारको शिक्षण पद्धति, २०८२ लाई शैक्षिक गुणस्तर सुधार तथा No One Left Behind वर्षका रूपमा मनाइँदा सञ्चालन गरिएका गतिविधि, IEMIS अभिलेख अद्यावधिक, समावेशी सिकाइ विधि तथा विद्यालय सुधारसम्बन्धी प्रशिक्षणबारे सहभागीहरूलाई जानकारी गराए।विद्यालयहरूले परियोजनामार्फत प्राप्त प्रारम्भिक कक्षाका सामग्री, शिक्षक किट, विद्यालय किट, खानेपानी फिल्टर, बाल विकास किट, कक्षा १–५ का विद्यार्थीका लागि शैक्षिक सामग्री, कार्यगत सीमितता सम्बन्धी तालिम, दण्डरहित शिक्षा तथा विद्यालय सुधार योजना सम्बन्धी प्रशिक्षण, साथै विभिन्न चरणमा अभिभावक–शिक्षक–विद्यालय व्यवस्थापन समितिसँग भएका निरन्तर छलफलहरूबारे जानकारी गराए।समावेशिताका क्षेत्रमा विद्यालयहरूले उजुरी पेटिका स्थापना, लैंगिक सम्पर्क शिक्षक तथा गुनासो सुनुवाइ समिति गठन, बालिका तथा समावेशी शिक्षा सञ्जाल निर्माण, विद्यालय क्षेत्रभित्रका सबै बालबालिका विद्यालयमै भर्ना भएको सुनिश्चितता, २४ जना कार्यगत सीमितता भएका विद्यार्थीलाई अपाङ्गता पहिचान शिविरमा सहभागी गराई Assistive Device सिफारिस, IEMIS अद्यावधिक, समावेशी भौतिक संरचना सुधार, ‘School at Home’ अभ्यास विस्तार तथा भर्ना अभियान सञ्चालनजस्ता गतिविधि अगाडि बढाइरहेको जानकारी गरियो।परियोजनाको सहयोगमा कक्षाकोठा र्याम्प तथा धारा मर्मत, रंगरोगन, शौचालय सुधार, सामग्री मर्मतसहित कुल रु. ६४,४८६ बराबरको पूर्वाधार सुधार कार्य सम्पन्न भएको विद्यालयहरूले साझा गरे।श्री सरस्वती जनता मा.वि.का प्राचार्य दीपक बहादुर बुढा, श्री रौलेश्वर मा.वि.का प्राचार्य विष्णु सिंह भण्डारी तथा श्री सरस्वी मा.वि. भर्नासागरका प्राचार्य जनकबहादुर थापाले नमुना विद्यालयमा लागू हुँदै आएका उत्कृष्ट अभ्यासहरूको प्रस्तुति दिँदै विद्यालयबीचको सहकार्यले व्यापक शैक्षिक सुधारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।कार्यक्रमको अन्त्यमा सहभागी गैर–नमुना विद्यालयका प्राचार्य तथा शिक्षकहरूले यस्तो भ्रमण अत्यन्त उपयोगी रहेको, नमुना विद्यालयका अभ्यासबाट धेरै सिकाइ प्राप्त भएको तथा आगामी दिनमा आफ्ना विद्यालयमा ती अभ्यासहरू लागू गर्न प्रेरणा मिलेको बताएका थिए।समापन सत्रमा श्री सरस्वी मा.वि. भर्नासागरका प्राचार्य जनकबहादुर थापाले नमुना विद्यालयहरूको सिकाइ अन्य विद्यालयमा फैलिनु नै परियोजनाको प्रमुख उपलब्धि भएको उल्लेख गर्दै आयोजक संस्था तथा परियोजना टोलीप्रति धन्यवाद व्यक्त गरे।समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाका शिक्षा अधिकृत ऋषिकेश जैरुले हाल तीन नमुना विद्यालयबाट सुरु गरिएको अभियान २०२७ सम्म बेलडाँडीका सबै सामुदायिक विद्यालयमा विस्तार गरिने, नमुना विद्यालयलाई रिसोर्स हब का रूपमा विकास गरिने तथा चाँडै नै विद्यालय–केन्द्रित अपाङ्गता पहिचान शिविर सञ्चालन गरिने जानकारी गराए।उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाउँदै आयोजक तथा सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो।

सम्बन्धित समाचार