आइत, जेष्ठ २४, २०८३

बेलौरीमा एचपिभी खोप अभियान सुरु, २२ सय किशोरीलाई खोप दिने योजना


बेलौरी ।पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी एचपिभी खोपको अभियान बेलौरीमा सुरु हुने तयारी अन्तिम चरणमा पुगेको छ।

बेलौरी स्वास्थ्य शाखाका अनुसार यस अभियानमार्फत नगरका २२ सय २६ किशोरीलाई खोप लगाइने छ।विद्यालयभित्र अध्ययनरत किशोरीसँगै विद्यालय बाहिर रहेका ३१ किशोरीलाई पनि खोप दिन विशेष योजना बनाइएको छ।२२ माघदेखि ६ फागुनसम्म सञ्चालन हुने यस अभियानलाई सफल बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको नगर उपप्रमुख जोगराम चौधरीले बताएका छन् ।

उनले यस अभियानले बेलौरीलाई रोगमुक्त नगर बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबैलाई अभियानप्रति सकारात्मक योगदान दिन आह्वान गरे।स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले यो राष्ट्रिय अभियान भएकाले यसलाई सफल बनाउन सबै सरोकारवालाले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन्।

मंगलबार पत्रकारहरूसँग आयोजित छलफलमा अभियानको तयारी र यसलाई सफल बनाउन आवश्यक रणनीतिबारे व्यापक छलफल गरिएको थियो।जिल्ला स्तरमा हेर्दा कञ्चनपुरमा मात्रै २७ हजार ७६५ किशोरीलाई एचपिभी खोप लगाइने योजना बनाइएको छ।

स्वास्थ्य कार्यालय कञ्चनपुरले ४२६ खोप केन्द्रमार्फत यो खोप वितरण गर्ने जनाएको छ। १० देखि १४ वर्ष उमेर समूहका किशोरी र कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई खोप लगाइनेछ।यो अभियानले सुदूरपश्चिमभरका २ लाख १ हजार ९३४ किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य राखेको छ।

यो महत्त्वपूर्ण प्रयासले किशोरीहरूको स्वास्थ्यलाई थप सुरक्षित बनाउँदै पाठेघरको मुखको क्यान्सरको जोखिमलाई न्यून गर्न मद्दत गर्नेछ।

सम्बन्धित समाचार

Leave a Reply