कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा टी – २० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बिहीबार देखि सुरु भएको प्रतियोगिताको प्रदेश सभा सदस्य दिवान विष्टले उद्घाटन गरेका हुन । प्रदेश सभा सदस्य विष्टले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटनमा सम्बोधन गर्दै प्रदेश सभा सदस्य विष्टले स्थानीय स्तरमा यस्ता क्रिकेट प्रतियोगिता आयोजना गरिनुपर्ने बताए । पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो प्रगति गरिरहेकोले यस्ता प्रतियोगिताबाट थप राम्रा खेलाडी उत्पादनमा सहज हुने प्रदेश सभा सदस्य विष्टले बताए ।यसैबिच पहिलो दिन भएको उद्घाटन खेलमा आयोजक सिद्धेश्वर जय पृथ्वी क्लब ‘सी’ ले विजय सुरुवात गरेको छ । आयोजक सिद्धेश्वर जय पृथ्वी क्लब ‘सी’ ले आयोजक ‘बि’ टिमलाई पराजित गरेको हो । पहिलो ब्याटिङ गरेको आयोजक ‘बि’ ले २० ओभरमा ७ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । ११० रनको लक्ष्य पाएको आयोजक सिले ७ ओभरमा आफ्नो १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।कञ्चनपुर टी – २० क्रिकेट प्रतियोगिता लेदर (उस) बलले जिल्लाको दक्षिणी क्षेत्रमा दशकको समयपछि आयोजना गरिएको छ । प्रतियोगिता अन्तरगत आज (शुक्रवार) बिहान १० बजे मालिकार्जुन हार्डवेयर प्रालि अत्तरिया र आयोजक ‘ए’ बिच खेल हुने छ ।असोज २४ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले १ लाख र उपविजेता टिमले ५० हजार नगद सहित ट्रफी प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिज हुने खेलाडीले १० हजार सहित ट्रफी पाउने छन् । त्यस्तै बेस्ट ब्याट्सम्यान र बलरलाइ ५ हजार सहित ट्रफी प्रदान गरिने छ ।

