२०८३ कार्तिक ९, सोमवार

दोधारा चाँदनी झोलुङे पुलको निरीक्षणपछि मुख्यमन्त्री भट्टले भने– हाम्रो क्षमताले भ्याएसम्म गर्छौं


आदित्य जोशी ,कञ्चनपुर,महाकाली नदीमाथिको चुँडिएको दोधारा चाँदनी झोलुङे पुलको सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टसहित प्रदेशका मन्त्रीहरुले स्थलगत निरीक्षण गरेका छन्। मुख्यमन्त्री भट्ट, भौतिक पूर्वाधार मन्त्री ओमविक्रम भाट र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल, पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल लगायतले क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण गरेका हुन।

बुधबार बिहान दोधारा चाँदनी नगरपालिका–४ स्थित झोलुङे पुलको पिल्लर भत्किएर पुलका लट्ठा महाकालीमा लत्रिएका छन्। पुल चुँडिएपछि आवतजावत ठप्प छ।मुख्यमन्त्री भट्टले प्राविधिक रिपोर्ट आएपछि प्रदेश सरकारको क्षमताअनुसार पुननिर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। झोलुङे पुलको पुननिर्माणमा स्थानीय तह, प्रदेश र संघ सरकारले मिलेर काम गर्नुपर्ने उनले बताए।‘बाँकी संरचना अहिले संरक्षण गर्नुपर्ने छ।

प्राविधिक रिपोर्ट आएपछि हामीले सक्ने हामी गर्छौँ,’ उनले भने, ‘यो गौरवको प्रतिक हो। यस्ता ठूला पोजेक्टमा प्रदेशलाई ज्यादै बढी भार पर्नसक्ने भएपछि संघले उदारतापूर्वक हेर्नुपर्छ। हाम्रो क्षमताले भ्याएजति हामी गर्छौं।’भौतिक पूर्वाधार मन्त्री ओमविक्रम भाटले झोलुङे पुलको सम्पूर्ण अंशको प्राविधिक जाँच गर्नुपर्ने बताएका छन्।

संघ सरकारसंग समन्वय गरेर पुननिर्माणको काम प्रदेश सरकार पनि लाग्ने उनले बताए। ‘भाँचिएको भागको मात्रै नभएर सम्पूर्ण पुलकै प्राविधिक जाँच गर्नुपर्ने देखिन्छ। हामी बजेट निर्माणको चरणमा पनि छौं,’ उनले भने, ‘संघ सरकारसँग समन्वय गरेर हामीले बनाउनु पर्ने भएपनि यसै वर्ष पुननिर्माण गर्ने गरी काम गर्छौं।’

सम्बन्धित समाचार