२०८३ कार्तिक ९, सोमवार

बुधबारसम्म छैन ठुलो वर्षाको सम्भावना


मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्र कमजोर बनिसकेको, मनसुनी रेखा सरदरभन्दा दक्षिणतिर रहेकाले तत्काल ठुलो वर्षाको सम्भावना छैन

चार दिनको झरी आइतबारबाट थामिएसँगै सोमबारदेखि मौसममा सुधार आएको छ । सोमबार दिउँसो अधिकांश स्थानमा घाम लागेको छ ।नेपाल मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी बुधबारसम्म ठुलो वर्षाको सम्भावना छैन ।

महाशाखाले नियमित रूपमा तीन दिनको मौसम पूर्वानुमान गर्दै आएको छ ।वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्र कमजोर बनिसकेको, मनसुनी रेखा सरदरभन्दा दक्षिणतिर रहेकाले तत्काल ठुलो वर्षाको सम्भावना नरहेको बताए । ‘समग्रमा आइतबारबाट मौसममा सुधार आइसकेको थियो । सोमबारबाट सबैजसो ठाउँमा सुधार भएर अधिकांश ठाउँमा घाम लाग्यो,’ उनले भने, ‘आगामी दुई–तीन दिनसम्म यही अवस्था रहन्छ ।

ठुलो वर्षा हुँदैन ।’ यद्यपि, ठुलो वर्षा गराएको प्रणालीले बोकेर ल्याएको जलवाष्पयुक्त हावा अझै पनि नेपाली आकाशमा रहेकाले अपराह्नपछि केही ठाउँमा आइसोलेटेड वर्षा भने हुने उनले बताए । ‘ठुलो वर्षा हुँदैन । कुनै–कुनै ठाउँमा केहीछिन हल्का वा मध्यम वर्षा हुन्छ,’ उनले भने ।

विभागले आगामी बुधबारसम्मका लागि मौसमसम्बन्धी कुनै चेतावनी जारी गरेको छैन । महाशाखाले जारी गरेको नियमित बुलेटिन आज मंगलबार हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम सफा रहनेछ ।

सम्बन्धित समाचार