२०८३ कार्तिक ९, सोमवार

ताक्लाकोटमा चीन–नेपाल सीमा बैठक: हिमतालको अध्ययन र विपद्सम्बन्धी सूचना आदानप्रदान गर्ने सहमति


कञ्चनपुर,असोज १२। चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने पुलान काउन्टी र नेपालका सीमावर्ती जिल्लाका अधिकारीबीच सीमा बैठक भएको छ।बैठकमा सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा दुई देशबीच परम्परादेखि चलिआएका व्यापारिक र सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने विषयमा छलफल भएको हो।

पुलान काउन्टीको ताक्लाकोट बजारमा भएको यस वर्षको बैठकमा सीमा क्षेत्रमा देखिएका समस्या, सुरक्षा सूचना आदानप्रदान, विपद्का बेला समन्वय तथा स्थानीयस्तरमा नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको बैठकमा सहभागी बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए।

सीमासम्बन्धी छलफल गर्न यस्तो बैठक प्रत्येक वर्ष बस्ने गरेको भए पनि बझाङका प्रमुख जिल्ला अधिकारी भने पहिलोपटक यस्तो बैठकमा सहभागी भएका हुन्। यसअघि पुलान काउन्टी र सीमावर्ती नेपाली जिल्लाबीच हुने बैठकमा बझाङको सहभागिता शून्य हुँदै आएको थियो।यस वर्ष हुम्लाको हिल्सा नाकाबाट प्रमुख जिल्ला अधिकारी केशरी र साइपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहरा बैठकमा सहभागी हुन ताक्लाकोट गएका थिए।

बैठकमा नेपालका सीमावर्ती जिल्लाबाट सीमा जोडिएका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूको सहभागिता थियो।यस्तै, चिनियाँ पक्षबाट पुलान काउन्टीका डेपुटी पार्टी सचिव तथा काउन्टी प्रमुख युआन लिनपेङ, राजनीतिक तथा कानुनी मामिला आयोगका सचिव एवं सार्वजनिक सुरक्षा ब्युरो प्रमुख वाङ जिए, पुलान बन्दरगाह प्रशासन समितिका निर्देशक पान जुन, पुलान प्रवेश–निकास सीमा जाँच चौकीका प्रमुख दाजिए, पुलान भन्सार प्रमुख चिलिए पेङ्कुओ,सीमा व्यवस्थापन ब्रिगेडका राजनीतिक प्रशिक्षक लिउ यु र पुलान काउन्टी विदेश मामिला कार्यालयका निर्देशक लुओ साङलगायत अधिकारी सहभागी थिए।

बैठकमा पुलान प्रशासनसँग सीमावर्ती जिल्लाका बासिन्दाले भोगिरहेका असहजता सुल्झाउने विषयमा पनि छलफल भएको थियो । ‘नेपालीका लागि चीनले व्यापार गर्ने विशेष व्यवस्था गरेको रहेछ।व्यवहारमा पनि चिनियाँ नागरिकसरह नै व्यवहार गरेको पायौं,’ केशरीले भने, ‘तर नाकाबाट प्रवेश गरेपछि त्यही नाकाबाट मात्रै फर्किनुपर्ने र जुन जिल्लाको मान्छे हो, त्यही जिल्लाको नाकाबाट मात्रै चीन प्रवेश गर्न मिल्ने व्यवस्थाका कारण समस्या छ।यसलाई परिवर्तन गर्न माग गरेका छौं ।

हाल सीमावर्ती जिल्लाका नागरिकले तिब्बत प्रवेश गर्दा प्रवेश गरेको नाकाबाटै फर्किनुपर्ने व्यवस्था छ । सीमावर्ती जिल्लाका नागरिकका लागि जुनसुकै उपयुक्त नाकाबाट प्रवेश र आवतजावत गर्न सकिने व्यवस्था गरिनुपर्ने नेपाली पक्षको माग रहेको बैठकका सहभागीहरूले बताए।

सीमावर्ती जिल्लाका धार्मिक परम्परासँग जोडिएको कैलाश–मानसरोवर यात्रालाई सहज बनाउने विषय पनि नेपाली पक्षले बैठकमा उठाएको छ।विशेषगरी मानसरोवरको जल ल्याएर स्थानीय मन्दिरमा पूजाआजा गर्ने परम्परालाई निरन्तरता दिन प्रयोजन खुलाएर प्रवेश अनुमति दिनुपर्ने माग नेपाली पक्षले गरेको हो ।

‘मानसरोवरको जल ल्याउने प्रयोजनका लागि छुट्टै अनुमतिपत्र जारी गरेर त्यसैका आधारमा मानसरोवरसम्म प्रवेश दिनुपर्छ भन्ने कुरा राखेका छौं,’ केशरीले भने, ‘यस विषयमा चिनियाँ पक्षले छलफल गर्ने बताएको छ।’बझाङ, हुम्ला र दार्चुलालगायत सीमावर्ती जिल्लाका धेरै धार्मिकस्थलमा मानसरोवरको जल चढाएपछि मात्रै पूजा सम्पन्न हुने परम्परा छ ।

पछिल्ला वर्षमा मानसरोवर प्रवेश गर्न नदिएपछि आठ वर्षदेखि यी जिल्लाका वार्षिक पूजा प्रभावित हुँदै आएका छन् ।यस्तै, चिनियाँ पक्षले कैलाश–मानसरोवर क्षेत्रमा पर्यटकको संख्या बढाउने योजना बनाइरहेको जानकारी नेपाली प्रतिनिधिमण्डललाई गराएको केशरीले बताए।उनका अनुसार चिनियाँ पक्षले यस वर्ष करिब एक करोड पर्यटक कैलास–मानसरोवर क्षेत्रमा पुगेको र आगामी दिनमा त्यसलाई दोब्बर बनाउने योजना रहेको जानकारी दिएको थियो ।

नेपाली पक्षले भने बझाङको उरै नाकासमेत सञ्चालनमा ल्याउन सके कैलास–मानसरोवर आउने पर्यटकका लागि थप मार्ग खुल्ने र पर्यटकको संख्या बढाउन सहयोग पुग्ने सुझाव दिएको छ।बझाङको उरै नाका खोल्न सके पर्यटकका लागि अर्को मार्ग थपिन्छ र यसले पर्यटन पनि बढाउन सक्छ भन्ने कुरा राखेका छौं,’ केशरीले भने, ‘चिनियाँ पक्ष यसमा सकारात्मक देखिएको छ।’बैठकमा नेपाल र तिब्बत क्षेत्रमा रहेका हिमतालको अध्ययन, सीमा क्षेत्रमा हुनसक्ने विपद् तथा सुरक्षा अवस्थाबारे नियमित सूचना आदानप्रदान गर्ने सहमति भएको छ ।

सीमा क्षेत्रमा हिमताल विस्फोट, बाढीपहिरो, हिमपहिरोलगायतका विपद्को जोखिम बढिरहेका बेला दुई देशका स्थानीय प्रशासनबीच तत्काल सूचना आदानप्रदान गर्नुपर्ने आवश्यकताका विषयमा छलफल भएको थियो।‘नेपाल र तिब्बत क्षेत्रमा रहेका हिमतालको अवस्था अध्ययन गर्ने, विपद् र सीमा सुरक्षासम्बन्धी सूचना आदानप्रदान गर्ने सहमति भएको छ,’ उनले भने, ‘यसका लागि विच्याट ग्रुपसमेत बनाएका छौं।

’यसले सीमा क्षेत्रमा कुनै प्राकृतिक विपद् वा सुरक्षा समस्या देखिए तत्काल दुवै पक्षबीच सूचना पु¥याउन सहज हुने उनले बताए ।बैठककै अवसरमा हुम्लाको नाम्खा गाउँपालिकाले पुलान काउन्टीसँग भगिनी सम्बन्ध स्थापना गरेको छ । यसैगरी आगामी वर्ष बझाङको साइपाल गाउँपालिका र पुलान काउन्टीबीच पनि भगिनी सम्बन्ध स्थापना गर्ने प्रक्रियालाई अघि बढाउने अनौपचारिक सहमति भएको साइपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहराले बताए।‘पुलानसँग हाम्रो सम्बन्ध केवल अहिलेको प्रशासनिक सम्बन्ध होइन, पुस्तौंदेखिको व्यापार, आवतजावत र सांस्कृतिक सम्बन्धसँग जोडिएको छ,’ बोहराले भने, ‘यसलाई अझ सुदृढ गर्न, थप व्यवस्थित र बलियो बनाउन औपचारिक रूपमा भगिनी सम्बन्ध स्थापना गर्न छलफल भएको छ ।

’उनले पुलान र साइपालबीच सडक तथा आधुनिक सीमा पूर्वाधार विस्तारसँगै पुरानो सम्बन्धलाई व्यवस्थित व्यापार, पर्यटन र स्थानीय आर्थिक गतिविधिसँग जोड्न सकिने सम्भावना रहेको बताए।ताक्लाकोटसँग बझाङ, हुम्ला, दार्चुला, मुगुका उत्तरी बस्तीहरूको सदियौंदेखि व्यापार र सांस्कृतिक सम्बन्ध छ । सीमावर्ती नेपाली बासिन्दा परम्परादेखि ताक्लाकोटलगायत तिब्बती बजारमा व्यापार गर्न जाने र दैनिक उपभोग्य सामान ल्याउने गर्थे ।

धार्मिक यात्रादेखि दुई देशका बासिन्दाबीचको मितेरी सम्बन्धसमेत जोडिएको छ।तर पछिल्ला वर्षमा सीमा व्यवस्थापनमा कडाइ, आवतजावतका नियममा परिवर्तन र तिब्बत प्रवेशमा थप नियन्त्रण भएपछि पुरानो सम्बन्ध प्रभावित भएको छ ।

सम्बन्धित समाचार