२०८३ कार्तिक ११, बुधवार

जनताका लागि बजेट कि सांसदहरुका लागि ‘भाग’? सुदूरपश्चिममा ३ अर्ब १५ करोडको तयारी


कञ्चनपुर,सुदूरपश्चिम प्रदेश सरकार चालु आर्थिक वर्ष ०८३/८४ को बजेट निर्माणमा जुटिरहेको बेला सरकारले प्रदेश सांसदहरूका लागि कम्तिमा तीन अर्ब १५ करोड भाग छुट्याउने भएको छ।

सरकारले यसअघि निष्कृय भएको बजेटमा सांसदहरूलाई छुट्याएको रकम अंक यथावत राख्ने तयारी गरेको बुझिएको छ। त्यस क्रममा प्रत्यक्ष निर्वाचित सांसदलाई जनही सात करोड र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई पाँच करोड बराबरका आयोजना सिफारिस मात्रै तयारी गरेको बुझिएको छ।

सुदूरपश्चिम प्रदेश सभामा हाल एक जना निलम्बितसहित ५० जना सांसद छन्। उनीहरूबाट सिफारिस आयोजनाका लागि सरकारले न्यूनतम तीन करोड १५ लाख बजेट व्यवस्थापन गर्ने तयारी गरिरहेको हो। सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको सोमबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले सिफारिस गर्ने आयोजनाका तथा बजेटका बारेमा छलफल भएको थियो।

सरकारले सांसदहरूलाई सात र पाँच करोड भाग दिएर आयोजना सिफारिस गर्नुपर्ने भनिए पनि प्रभावशाली कतिपय सांसदहरूले विगतका बजेटमा ४५ करोडसम्मको भाग लिने गरेको बजेट निर्माणमा संलग्न पदाधिकारीहरू बताउँछन्।

‘विगतमा सत्तारुढ दलका केही प्रभावशाली सांसदले सात करोडको भागमा २० देखि २५ करोड बजेट लिएर एकमुष्ट आयोजना सिफारिस गर्थे। त्यसबाहेक पनि हरेक मन्त्रालयमा उनीहरूले बेग्लै आयोजना र बजेटको सूची पेश गरेर आयोजना तथा बजेट पाथे; विगतमा बजेट निर्माणमा संलग्न एक पदाधिकारीले भने ‘प्रतिपक्षी दलका मुख्य नेताहरू पनि सात र पाँच करोडको सीमामा बस्दैन्थे।’

सम्बन्धित समाचार