शुक्र, भदौ २६, २०८३

काम नगर्ने ठेकेदारलाई सुदूरपश्चिम सरकारको झट्का, ३० बहुवर्षीय योजनाको ठेक्का तोड्ने तयारी


कञ्चनपुर,सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अलपत्र अवस्थामा रहेका समस्याग्रस्त बहुवर्षीय योजनाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि मन्त्रालयले बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गरेर सुझावसहितको प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ ।

नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले सोमबार पदभार ग्रहण गर्दै मन्त्रालयमातहतका बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्रालयको प्रादेशिक सडक तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर रामचन्द्र खत्री संयोजक र मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुखहरू समितिको सदस्य छन् ।

समितिले एक महिनाभित्र दिने सुझावसहितको प्रतिवेदनका आधारमा समस्याग्रस्त योजनाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइने मन्त्रालयका सचिव विष्णु भण्डारीले बताए । वर्षौँदेखि काम अलपत्र रहेका र ५० प्रतिशतभन्दा कम भौतिक प्रगति भएका योजनाको ठेक्का तोड्न लागिएको उनले जानकारी दिए । सचिव भण्डारीका अनुसार मन्त्रालयमातहत हाल एक सय ८२ वटा बहुवर्षीय योजनामध्ये ३० वटा समस्याग्रस्त भनेर पहिचान गरिएको छ ।

तीमध्ये अधिकांश सडक, पुल निर्माणका योजना छन् । काम भइरहेकामा पनि धेरैजसो बहुवर्षीय योजनाको प्रगति अपेक्षित नरहेको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष ०७५/७६ मा ठेक्का लागेर दुई–तीन वर्ष निर्माण अवधि रहेका योजनाको काम अझै अधुरै छ ।म्याद थप हुँदा पनि निर्माण व्यवसायीले काम नगरेका, लागत अनुमान वास्तविक नभएका, ‘भेरिएसन’ गर्नुपर्ने र बजेटको व्यवस्थापन गर्न नसकिएका कारण ५० प्रतिशतभन्दा कम भौतिक प्रगति भएका ३० वटा बहुवर्षीय योजना रुग्ण अवस्थामा रहेको प्रारम्भिक रूपमा पहिचान गरिएको छ ।

समितिले गर्ने अध्ययनबाट ठेक्का तोड्नुपर्ने थप आयोजना यकिन हुने मन्त्रालयले जनाएको छ ।प्रदेशका नौवटै जिल्लाका एक–एकवटा गरी नौवटा सडकलाई प्रदेश गौरवका योजनामा राखेर आर्थिक वर्ष ०७५/७६ बाट विभिन्न खण्डमा निर्माणको थालनी गरेको थियो । हालसम्म प्रदेश गौरवका कुनै पनि सडकले पूर्णता पाएको छैन ।

कतिपय खण्डको काम पटक–पटक म्याद थप गर्दा पनि अधुरै छ ।बजेट अभावले पनि कतिपय योजना कार्यान्वयनमा समस्या भइरहेको प्राविधिक बताउँछन् । गत आर्थिक वर्षमा मात्र सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत ७१ वटा बहुवर्षीय योजना थप गरेको थियो ।

सम्बन्धित समाचार