आइत, साउन २४, २०८३

पत्रकार खेम भण्डारी कारागारबाट रिहा


कञ्चनपुर, साउन २३ गते । कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा हुनुभएको छ । उहाँले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा हुनुभएको हो । निर्मला पन्त हत्या प्रकरणका विषयमा पत्रकार भण्डारीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा गालीबेइज्जतीको मुद्दा दायर भएको थियो ।

अदालतले विसं २०८२ जेठ १ गते उहाँलाई दोषी ठहर गरेको थियो । तत्कालीन न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उहाँलाई कैद सजाय सुनाएको थियो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका पूर्वप्रहरी उपरीक्षक दिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला प्रकरणमा आफ्नो नाम जोडेर समाचार लेखेको भन्दै पत्रकार भण्डारीविरुद्ध अदालतमा गालीबेइज्जतीको मुद्दा दायर गरेका थिए ।

समाचारको विषयमा खण्डन प्रकाशित गराउन तथा प्रेस काउन्सिलमा उजुरी दिन सकिने व्यवस्था रहे पनि अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयले गत असार १८ गते पत्रकार भण्डारीलाई भीमदत्त नगरपालिका–१८, कटानबाट पक्राउ गरेको थियो ।भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको विसं २०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

अघिल्लो दिन किताब पढ्न साथीको घरमा जानुभएकी पन्तको निम्बुखेडा खोलाको किनारमा रहेको उखुबारीमा शव फेला परेको थियो । घटनास्थलबाटै प्रमाण नष्ट गर्न खोजिएको भन्दै स्थानीयले आन्दोलन गरेका थिए ।यस प्रकरणमा मुख्य अभियुक्तलाई संरक्षण गर्न खोजिएको भन्दै आन्दोलित स्थानीयका मागका विषयमा समाचार प्रकाशन गरेको मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारीले बताउनुभयो ।

निर्मलाको शरीरमा रहेको सुरुवाललगायतका कपडा प्रमाण सङ्कलन गर्नुअघि नै पानीले धोएर प्रमाण मेट्न खोजिएको, घटनास्थललाई सुरक्षित राख्न घेराबन्दी नगरिएको तथा निर्मलाको गुप्ताङ्ग पखालेर डीएनएको मुख्य प्रमाण नष्ट गरेको आरोप प्रहरीमाथि लागेको थियो ।

घटनास्थल वरपर देखिएका शङ्कास्पद व्यक्तिका पैतालाका डोब तथा निर्मलाका किताब–कापीमा रहेका औँठाछापको प्राविधिक सङ्कलन नगरिएको गृह मन्त्रालयको छानबिन प्रतिवेदनले देखाएको थियो ।यस प्रकरणमा संलग्न व्यक्तिको प्रहरीले अझै पहिचान गर्न सकेको छैन । यद्यपि घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित समाचार