काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो पर्व दशैंलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले देशभर ६० हजार प्रहरी जनशक्ति परिचालन गरेको छ । ७९ हजार ५४१ दरबन्दी रहेको नेपाल प्रहरीमा अहिले करिब ४ हजार दरबन्दी रिक्त छ । जसमध्ये देशभर दशैं सुरक्षाका लागि भनेर ६० हजार प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले बताए । अति आवश्यक काम बाहेकका प्रहरी कर्मचारीलाई यो पटक दशैंमा बिदा छाडिएको छैन । सकेसम्म सुरक्षित दशैं बनाउने योजना प्रहरी प्रधान कार्यालयको छ ।बिज्ञापनबाढी पहिरोबाट क्षति भएका जिल्लाहरुमा कार्यरत प्रहरी कर्मचारीलाई राहत, पुनर्स्थापनालगायतको काम बाँकी नै रहेकाले अहिले अति आवश्यक बाहेकहरुलाई बिदा छाडिएको छैन । ६० हजार प्रहरीमध्ये केही प्रहरी भने सादा पोशाकमा सूचना संकलनका रुपमा खटिएका छन् । उनीहरुले अपराध हुने वा हुनसक्ने स्थानहरुमा खटिएर सूचना संकलनको कामदेखि अपराध भइहालेमा अनुसन्धानको काममा समेत खटिने छन् ।देशभरका ७७ जिल्लामा परिचालन भएका ६० हजार प्रहरीले जनताको जिउधनको सुरक्षा गर्नुका साथै केही भइहालेमा जतिसक्दो चाँडो घटनास्थल पुग्ने व्यवस्था समेत मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त पारिएकाले ढुक्क भएर दशैं मनाउने अवस्था रहेको डीआईजी कार्कीको भनाइ छ ।

