खडक रावल कञ्चनपुर, २१ असोज कञ्चनपुरको एक वडाले दशैँ मनाउनका लागि विपन्न एव वाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरेको छ । दोधाराचाँदनी नगरपालिका ६ नम्बर वडाले दशैँ मनाउनका लागि विपन्न एव वाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरेको हो । गत असार र भदौँमा आएको वाढीबाट विस्थापित भएका वडाका स्थानीय एव आर्थिक रुपमा विपन्न आदिवासी जनजाती दलित समुदायका परिवारलाई खाद्यान्न समाग्री वितरण गरिएको हो । सोमबार एक कार्यक्रमका विच दोधाराचाँदनी नगरपालिका ६नम्बर वडाले खाद्यान्न राहत वितरण गरेको जनाएको छ । दोधाराचाँदी नगरपालिका ६ का वडाध्यक्ष ओम बस्नेतले वाढीपीडित विपन्न समुदायको दशैँ मनाउनका लागि खाद्यान्न वितरण गरेको बताए । वडाध्यक्ष बस्नेतका अनुसार प्रति परिवार १ बोरा चामल, दाल, नुन, तेल, साबुन सहितका खाद्यान्न वितरण गरिएका छन । ‘वाढीबाट पीडित र विपन्न समुदायका नागरिकलाई सहज दशैँ मनाउनका लागि हामीले आधारभूत खाद्यान्न समाग्री वितरण गरेका छौँ, ‘उनले भने, ‘खाद्यान्न बिना कुनैपनि वडाबासी दशैँ मनाउनबाट बञ्चित नहोस भन्ने हाम्रो उदेश्य हो ।’ वडाका अढाई परिवारलाई खाद्यान्न वितरण गरिएको बताउँदै वडाध्यक्ष बस्नेतले छुटफुटलाई पनि वितरण गर्ने गराउने बताए । दशैँकै मुखमा वडाबाट निःशुल्क खाद्यान्न पाएपछि स्थानीय हर्षित भएका छन । उनीहरुले भान्सामा पकाउने समान सहज उपलब्ध भएपछि दशैँ मनाउन सहज हुने बताए ।

