आइत, जेष्ठ २४, २०८३

सुरक्षाकर्मीबाटै संरक्षण ? सम्झनाका आफन्तको आरोप : ‘डिएसपीले अपराधी लुकाए’


महेन्द्रनगर । पाँच दिन अघि घरभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी बेलडाँडीकी सम्झना भट्टको मृत्यु प्रकरणमा सशस्त्र प्रहरीका नायब उपरीक्षक (डिएसपी) सुरज भट्ट मुछिएका छन् ।मृतक भट्टका आफन्तले डिएसपी भट्टले उनको मृत्युको मुख्य योजनाकार पूजा भट्टलाई काठमाडौंस्थित आफ्नै घरमा लुकाएर राखेको आरोप लगाएका छन् । आफन्तले जिल्ला प्रहरी कार्यालय पुगेर प्रहरीलाई पूजा डिएसपी भट्टको घरमा बसि रहेका जानकारी दिएका छन् ।आइतबार १७ वर्षिय सम्झना झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले उनका श्रीमान पवन भट्ट, पूजा भट्ट सहितका सासु ससुरा गरी चार जनाको नाममा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए ।किटानी जाहेरीपछि सम्झनाका पति पवन सहित उनका आमा बुवा पक्राउ गरिएका छन् । जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरीले उनीहरुमाथि अनुसन्धान गरि रहेको छ ।किटानी जाहेरी दिइएकामध्ये ३१ वर्षिय पूजा भट्ट अझै पक्राउ परेकी छैनन् । उनी सम्झनाका पति पवनकी दिदी हुन् । सशस्त्र प्रहरीका डिएपसी भट्ट उनका देबर हुन् । मृतक सम्झनाका आफन्तले उनलाई मृत्यु प्रकरणकी प्रमुख योजनाकार भनेर आरोपित गरेका छन् ।सम्झनाका आफन्तले सशस्त्र प्रहरीका डिएसपीले आफ्नो घरमा राखेर संरक्षण दिएका उनलाई पक्राउ गर्न आनाकानी गरिएको आरोप लगाए ।‘सम्झनालाई मृत्युसम्म पुगाउने मुख्य योजनाकारलाई अहिलेसम्म पक्राउ गरिएको छैन, काठमाडांैमा संरक्षण पाएर बसेकी छन्, उनलाई जोगाउने कार्य हुँदैछ’ सम्झनाका आफन्त बसन्त भट्टले भने ।आफन्तहरुले पूजाले नै उनका श्रीमान पवनलाई मार्न उक्साएको आरोप लगाएका छन् । ‘तँ मार दे, अब नछाडन्, के हुने हो, बढी ५ वर्ष जेल त जाने हो भनेर उक्साएर मार्न लगाएका हुन्, उनी नै यो मृत्यु प्रकरणको प्रमुख योजनाकार हुन्’ उनका आफन्तहरुले भने ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले सम्झनाका आफन्तले पूजा काठमाडौंमा नातेदारको घरमा बसेको जानकारी दिएको बताए । ‘आफन्तले हामीलाई पनि वहाँ काठमाडौंमा आफन्तको घरमा बसी राखेको जानकारी दिनु भएको छ’ उनले भने ।प्रहरी नायब उपरीक्षक बोहराले पूजालाई पक्राउका लागि प्रहरी कार्यालयले प्रक्रिया अघि बढाएको बताए । ‘वहाँ काठमाडौंमा बसि राखेको छ भन्ने छ, त्यस आधारमा कार्यालयले आफ्नो हिसाबले प्रक्रिया अघि बढाएको छ’ उनले भने ।प्रहरी स्रोतका अनुसार प्रहरीले पूजाको लोकेशन समेत ट्रेस गरेको छ । त्यसमा उनी काठमााडौंमै देखिएको प्रहरी स्रोतको भनाई छ ।भीमदत्त नगरपालिका ६ ऐठपुर माइती घर भएकी सम्झना र बेलडाँडाका २४ वर्षिय पवन भट्टबीच गत फागुनमा प्रेम विवाह भएको थियो । पवन अमिटी कलेजका विद्यार्थी हुन् ।विवाहपछि उनीहरुबीच झैझगडा भएर प्रहरीसम्म पुगेको थियो । सम्झना मृत भेटिन अघि शनिबार पनि उनीहरु दुबै जनाबीच इलाका प्रहरी कार्यालय बेलडाँडीमा छलफल गरी मिलापत्र गरिएको थियो ।आफन्तको अनुसार सम्झना रक्ताम्ये अवस्थामा इलाका प्रहरी कार्यालय पुगेकी थिइन् । इलाका प्रहरी कार्यालयबाट घर फर्केपछि उनले आफू बाँच्ने नसक्ने भन्दै आफन्तलाई सन्देश पठाएकी थिइन् ।आइतबार सम्झनाका श्रीमान पवनलाई पक्राउ गरिएको थियो । त्यसपछि उनका ससुरा हरिदत्त भट्ट र सासु किरण भट्टलाई पक्राउ गरिएको हो ।सम्झनाका माइती पक्षले उनीहरु विरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ।सम्झनाका माइतीले उनका श्रीमान् तथा परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनहरुको आरोप छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता बोहराले आत्महत्याको कारण पत्ता लाग्ने बताए । बुधबार विद्यार्थीहरुले सम्झनालाई न्याय माग्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

सम्बन्धित समाचार