महेन्द्रनगर। शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले नेतृत्व सम्हालेको तीन वर्ष पूरा भइसकेको छ। अहिले उनको कार्यकाल चौथो वर्षमा प्रवेश गरिसकेको छ। तर, उनले चुनावी घोषणापत्रमार्फत जनतासँग गरेका अधिकांश वाचा अझै कागजमै सीमित छन्।adनगर प्रमुख महराले सामुदायिक विद्यालयहरूमा आधारभूत तहको शिक्षा अंग्रेजी माध्यममा पठनपाठन गराउने उल्लेख गरेका थिए। तर, तीन वर्ष बित्दा पनि कुनै पनि विद्यालयमा अंग्रेजी माध्यममा पढाइ सुरु गरिएको छैन। त्यस्तै, ५० शैयाको नगर अस्पताल निर्माण गर्ने प्रतिबद्धता पनि अधुरो नै छ।अस्पताल निर्माण कार्य अझै सम्पन्न भइसकेको छैन। उनले ज्येष्ठ नागरिक, अतिविपन्न र अपांग व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बीमा गर्ने वाचा गरे पनि हालसम्म त्यसको कार्यान्वयन भएको छैन।यसैगरी, ‘एक वडा, एक जेटिए’ कार्यक्रम, उत्कृष्ट किसानलाई प्रोत्साहन, उद्यम गर्न चाहने युवा र महिलालाई बिना धितो ऋण तथा व्याज अनुदानजस्ता नगर प्रमुख महराका चुनावी प्रतिबद्धता कार्यान्वयन हुन सकेका छैनन्।यस्तै, एक वडा एक ज्येष्ठ नागरिक मिलन केन्द्र, बाल उद्यान तथा खेल मैदान निर्माण गर्ने प्रतिबद्धता पनि अधुरै छ। यद्यपि वडा नं. १ ले भने ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण गरिरहेको छ।नगर प्रमुख महराले उत्कृष्ट खेलाडीलाई मासिक भत्ता वितरण, अतिविपन्न तथा गरिब परिवारलाई निःशुल्क नून वितरण गर्ने वाचा पनि गरेका थिए। तर, कार्यकालको तीन वर्ष बितिसक्दा पनि यी योजनाहरू व्यवहारमा ल्याइएका छैनन्।यसैगरी, नगरभित्रको चक्रपथ कालोपत्रे गरी नगर बस सञ्चालन गर्ने महत्त्वाकांक्षी योजना पनि अधुरो छ। निर्माण कार्य सुरु त भएको छ, तर महराको कार्यकालमै निर्माण सम्पन्न भएर नगर बस सञ्चालन हुने सम्भावना न्यून देखिन्छ।त्यस्तै, त्यस्तै, विपन्न र गरिब परिवारका उत्कृष्ट विद्यार्थीलाई चिकित्सक र इन्जिनियर अध्ययनका लागि छात्रवृत्ति दिने प्रतिबद्धता पनि कार्यान्वयन हुन सकेको छैन। यद्यपि, एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति दिन कार्यविधि बनाइएको भए पनि हालसम्म कुनै विद्यार्थीले उक्त छात्रवृत्ति प्राप्त गर्न सकेका छैनन्।नगर प्रमुख महराले ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराउने, अशक्त, अपांग र वृद्धवृद्धालाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने घोषणा गरेका थिए। तर, अहिलेसम्म पनि लाभग्राहीहरू बैंकमा लाइन बस्न बाध्य छन्।त्यस्तै, टोलटोल र घरघरमा मेयर/उपमेयर पु-याएर सार्वजनिक सुनुवाइ गर्ने, बौद्धिक वर्ग र सामाजिक अगुवासँग मासिक परामर्श र अन्तक्रिया सञ्चालन गर्ने, कर्मचारीलाई कार्यसम्पादनको आधारमा सम्मान, प्रोत्साहन वा दण्ड दिनेसम्मको प्रतिबद्धता नगर प्रमुख महराको घोषणापत्रमा उल्लेख भए पनि ती वाचा अहिलेसम्म काजगमै सीमित छन्।

