कञ्चनपुर। अबदेखि अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने भएको छ ।सूचना तथा प्रसारण विभागले मङ्गलबार सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।सरकारले नेपाल ऐनसंशोधन मार्फत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐनमा थपिएको दफा ७ (ख) बमोजिम अनलाइन सञ्चारमाध्यमको दर्ता अनिवार्य गरेको छ । सो दफाअनुसार अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न इच्छुक व्यक्तिले तोकिएको दस्तुरसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।विभागले यसअघि लागू रहेको अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ अनुसार सञ्चालन हुँदै आएको अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण प्रक्रिया नयाँ कानुनी संरचनासँग समन्वय आवश्यक भएकाले हाललाई स्थगित गरिएको जनाएको छ ।यो निर्णय कार्यान्वयनमा आएपछि हजारौं अनलाइन सञ्चालकहरू, पत्रकारहरू, र स्वरोजगार मिडियाहरू अन्योलमा पर्नेभन्दै अनलाइन मिडियाकर्मिहरुले यसको बिरोध समेत गरिरहेका छन ।


