आचल पाल्पाली/ कंचनपुर बर्खा सुरु भएसँगै नदी र खोलानजिक बसोबास गर्ने स्थानीय बासिन्दा त्रसित भएका छन्। असारदेखि भदौसम्म पानीको बहाव अत्यधिक बढ्ने भएकाले कैलाली, कञ्चनपुरलगायत देशभरका बासिन्दा बाढीको त्रासमा बस्न बाध्य छन्। नदी किनार नजिकका बस्तीहरूमा हरेक वर्ष ज्यानै जाने घटना दोहोरिने गरेको छ।कञ्चनपुरको दोधारा–चाँदनीस्थित कुतियाकबर क्षेत्रमा महाकाली नदी बढेर आउँदा स्थानीयहरू वर्षेनि डरमा बाँच्न बाध्य भएको स्थानीय बासिन्दाहरूले बताएका छन्। कुतियाकबरकी आकृति कसेराले हरेक वर्ष बाढीले घर डुबाउने अवस्था आउने गरेकाले अत्यन्तै पीडा भोग्नुपरेको जानकारी दिनुभयो। तर, दीर्घकालीन समाधानका लागि सरकारबाट कुनै पहल नहुनु दुखद रहेको उहाँले बताउनुभयो।त्यस्तै, कैलालीका दानबिर लुहारले बाढीका कारण वर्षेनि खानेकुरा र बासको समेत अभाव हुने गरेको बताउनुभयो। बाढी र पहिरोका कारण स्थानीयहरू वर्षेनि ठूलो सास्ती भोग्न बाध्य भएका छन्। यस्ता समस्यालाई राज्यले गम्भीरतापूर्वक नलिएको भन्दै स्थानीय बासिन्दाहरूले आक्रोश व्यक्त गरेका छन्।कञ्चनपुरको बुझेलाका महावीर सुनारले भने, “हरेक वर्ष बाढीका कारण घर डुबानमा पर्छ, अन्नबालीसमेत नष्ट हुन्छ। यति ठूलो क्षति हुँदा पनि राज्य मौन बस्नु पीडादायक हो।”स्थानीयहरूका अनुसार अहिले गृहमन्त्रीसमेत सुदूरपश्चिमकै क्षेत्रका भएकाले यसपालि ज्यानको सुरक्षा हुने आशा उनीहरूमा देखिएको छ। साथै, समयमै राहत तथा व्यवस्थापन हुने विश्वाससमेत व्यक्त गरिएको छ।हाल देशभर लगातार परेको भारी वर्षाका कारण धेरै ठाउँ डुबानमा परेका छन्। यस्तो अवस्थामा बाढी प्रभावित क्षेत्रहरूमा तत्कालीन राहतसहित दीर्घकालीन समाधानका लागि सम्बद्ध निकायलाई सक्रिय हुन बाढीपीडितले माग गरेका छन्।

