सोम, जेष्ठ २५, २०८३

मालिकार्जुन गाउँपालिकामा एसईई नतिजा अत्यन्तै न्यून, अध्यक्षदेखि शिक्षकसम्म ‘योग’ मै व्यस्त


सञ्जय सिंह महर, दार्चुला —दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अत्यन्तै कमजोर देखिएको छ।

गाउँपालिकाभरिका १८६ जना परीक्षार्थीमध्ये केवल ३१ जनाले मात्र परीक्षा उत्तीर्ण गरेका छन्।उत्तीर्ण हुने विद्यार्थीमध्ये सबैभन्दा धेरै डाडाकोटबाट ७ जना रहेका छन् भने पस्तीबाट ५ जना, भार्तोला र डिन्सीबाट ४/४ जना, बाकू र सेलीचामाबाट ३/३ जना, ठिङ्गबाट २ जना तथा उकू, मड र एरिछिनाबाट १/१ जना मात्र उत्तीर्ण भएका छन्। चन्दपुरबाट भने एकजना पनि उत्तीर्ण हुन सकेनन्।

कुनै समय ‘टप’ स्कूलको रूपमा चिनिएको उकू विद्यालयको अवस्था अहिले दयनीय बनेको छ। यस वर्ष उकूबाट २३ जना परीक्षार्थी सहभागी भएका थिए, तर तीमध्ये केवल १ जनाले मात्र परीक्षा पास गरेका छन्।

नतिजा यति कमजोर आएपछि अभिभावकहरू चिन्तित भएका छन्। उनीहरूका अनुसार गाउँपालिकाको स्थानिय सरकारले विद्यालयको शिक्षण–सिकाइतर्फ भन्दा योग कार्यक्रमतर्फ बढी ध्यान दिइरहेको छ।शिक्षकहरूको कार्यशैली, आवश्यक तालिमको अभाव, भौतिक संरचनाको कमजोरी, व्यवस्थापनमा कमी, विद्यार्थी प्रतिको जिम्मेवारीबोधको अभाव लगायतका समस्याहरू समाधान गर्नुपर्नेमा गाउँपालिकाको नेतृत्व र शिक्षकहरू योगमा मात्र केन्द्रित भएको अभिभावकहरूको गुनासो छ।

‘गाउँघरमा योगभन्दा पनि शैक्षिक प्रणालीमा सुधार ल्याउनु आवश्यक छ,’ स्थानीय अभिभावकहरू बताउँछन्। उनीहरूले अब विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न र समस्याको गहिरो विश्लेषणसहित सुधारात्मक कदम चाल्न स्थानीय सरकारसँग माग गरेका छन्।

सम्बन्धित समाचार

Leave a Reply