महेन्द्रनगर / सञ्जय सिंह महर असार १४: कञ्चनपुरको युवा समूह पावर अफ युथ ले ‘क्लीन महेन्द्रनगर, ग्रीन महेन्द्रनगर’ नामक सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान सुरु गरेका छन्।

अभियानको नेतृत्व सामाजिक अभियन्ता अंकित जोशीले गरिरहेका छन्।उनका अनुसार अभियान अन्तर्गत प्रत्येक हप्तामा एकपटक महेन्द्रनगरको विभिन्न स्थानहरूमा सरसफाइ कार्य तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ। अभियानको पहिलो दिन मदनचोकदेखि चम्मनचोकसम्म क्षेत्र सफा गरिएको छ।
उक्त अभियानमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी बलले समेत सहयोग गरेका छन्। साथै, इन्टरनेट सेवा प्रदायक WorldLink र विभिन्न स्थानीय विद्यालयहरूले प्रायोजन तथा सहकार्य गरेका छन्।सामाजिक उत्तरदायित्व अन्तर्गत विविध शैक्षिक संस्था, व्यवसायी तथा स्थानीय समुदायको सक्रिय सहभागितामा संचालन गरिएको यस अभियानले नगरको स्वच्छता र हरियालीलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।
आयोजक पावर अफ युथ समूहका अनुसार यो अभियान केवल सरसफाइमै सीमित नरही नागरिक सचेतना अभिवृद्धिमा समेत केन्द्रित रहनेछ। अभियन्ता जोशीले नियमित रूपमा सरसफाइ र वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिएका छन्।

