कञ्चनपुर असार ४। पछिल्लो समय सामाजिक सञ्जालमा पोखरी कटेजले ५० लाख रुपैयाँ अनुदान पाएको भन्ने हल्ला चलेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरले उक्त खबर झुटो भएको स्पष्ट पारेको छ।

केन्द्रले पोखरी कटेजको नाममा कुनै पनि अनुदान नगएको र सामाजिक सञ्जालमा आएका खबरमा सत्यता नरहेको जनाएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरका सूचना अधिकारी एवं पशु चिकित्सक खडकबहादुर पाण्डेयले पोखरी कटेजलाई अनुदान दिने कुनै कार्यक्रम नै नभएको र हावाको भरमा झुटो खबर आएको बताउनुभयो।
उहाँले स्पष्ट पार्दै भन्नुभयो, “त्यो पोखरी कटेजलाई कुनै अनुदान गएको छैन, दिइएको छैन।”उहाँका अनुसार, पोखरी कटेजका सञ्चालक कृष्ण रानाले आफ्नो जग्गामा ललिता एग्रो फर्म नामको व्यवसायमा जिउँदो माछा कटिङ, माछाको पोखरी मर्मत सम्भार, र माछा बिक्री केन्द्र सञ्चालनका लागि सम्झौता गर्नुभएको थियो। यसअनुसार काम भइरहेको अवस्थामा ५० लाख रुपैयाँ पूरै नजाने र जति काम भएको छ, सोहीअनुसार रकम भुक्तानी हुने उहाँले बताउनुभयो।
तर, पोखरी कटेजमा भने कुनै अनुदान नभएको उहाँको भनाइ छ।पोखरी कटेजका सञ्चालक कृष्ण रानाले ललिता एग्रो फर्ममा अनुदानका लागि प्रस्ताव पेश भएको तर अनुदान नपाएको स्पष्ट पार्नुभयो।
उहाँले आफू पोखरी कटेजको सञ्चालक भएको र उक्त कटेजमा एक रुपैयाँ पनि अनुदान नआएको बताउनुभयो।सामाजिक सञ्जालमा आएको ५० लाख लगानी र ५० लाख भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरको भन्ने हल्ला झुटो रहेको र यो प्रतिशोध साध्ने प्रकारले आएको हावादारी खबर भएको रानाले बताउनुभयो।
उहाँले जिउँदो माछा बिक्री केन्द्रका लागि अनुदान माग गरिएको भए पनि पोखरी कटेजका लागि नभएको स्पष्ट पार्नुभयो।कृष्ण रानाका अनुसार, ललिता एग्रो फर्म २०७२ सालमा दर्ता भएको हो भने पोखरी कटेज २०७६ सालमा सञ्चालनमा आएको हो।
पोखरी कटेजमा आउने पाहुनाहरूलाई टिकट नभएर फुड कुपन दिइने र उक्त कुपनको रकम खानेकुरामा काटिने पनि उहाँले प्रष्ट पार्नुभयो।रानाले १३ करोड रुपैयाँ ऋण निकालेर व्यवसाय गरेको बताउँदै सुदूरपश्चिमको पर्यटकीय क्षेत्रमा राम्रो काम गरिरहेको र ४३ जनालाई रोजगारी दिएको जानकारी दिनुभयो।
यसरी अनुदानको विषयमा चलेको भ्रमका बीच पोखरी कटेजले आफ्नो व्यवसायिक पक्ष र रोजगारी सृजनामा पुर्याएको योगदानलाई पनि स्पष्ट पारेको छ।

