कञ्चनपुर, असार १ सरकारी कार्यालयमा हुने भ्रष्टाचार र घुस प्रकरण अझै न्यूनिकरण भएको छैनन् । भ्रष्टाचार रोक्न अख्तियार आएपनि कर्मचारी भ्रष्टाचार गर्न छाडेका छैनन ।
नयाँ भेरियन्टशैलीमा भ्रष्टाचारमा कर्मचारी लिप्त भएका छन । २० हजार रुपैयाँ घुससहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय, महोत्तरीका नायब सुब्बा अशोककुमार यादवलाई अदालतले दोषी ठहर गर्दै एक महिना कैद सजाय सुनाएको छ ।
रिसवत घुससहित भ्रष्टाचार मुद्दामा विशेष अदालतले यादवलाई बिहीबार दोषी ठहर गरेको हो । विशेषका न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला सुनाउँदै यादवलाई एक महिना कैदका साथै २० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
सवारी ज्यान मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट पाउनुपर्ने क्षतिपूर्ति भुक्तानीका लागि उनले सेवाग्राहीसँग घुस लिएका थिए। लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत ७ मंसिरमा घुस रकमसहित रंगेहात उनलाई पक्राउ गरेको थियो।
१ पुसमा मुद्दा दायर भएको थियो। बरामदी मुचुल्काका क्रममा खिचिएको भिडियोमा यादवले खल्तीबाट कुर्सीमुनि २० हजार खसाएको देखिएको, भिडियोमा देखिएका व्यक्ति उनै भएको भनेर सनाखत भएको र प्रतिवादीले उक्त रकम आफूसँग मागेको भनेर पीडितले गरेको बकपत्रलाई आधार बनाएर अदालतले दोषी ठहर गरेको हो।
घुस लेनदेनमा सघाउने दिनेशकुमार साह पनि पक्राउ परेका थिए। साहको हकमा भने वस्तुनिष्ट सबुत प्रमाणको अभाव रहेको भन्दै अदालतबाट सफाइको फैसला भएको छ ।
यसैविच मालपोत कार्यालय सिराहामा कार्यरत कार्यालय सहयोगी राजकुमार रायले भाडामा लिएको घरमा अवैध रूपमा राखिएको मालपोत कार्यालयको महत्त्वपूर्ण कागजातहरू प्रहरीले बरामद गरेको छ।
सिराहा नगरपालिका– ७ मा रहेको एक घरमा कार्यालय सहयोगी रायले लुकाएर राखेको मालपोत कार्यालयका विभिन्न कागजात प्रहरी टोलीले बरामद गरेको हो।
प्रहरी निरीक्षक आकाश उप्रेतीको नेतृत्वमा खटिएको टोलीले अनुसन्धानको क्रममा रायले अवैध रूपमा लुकाएर राखेको मालपोत कार्यालयको पुरानो स्रेस्तालगायतका कागजातहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले बताए। रायले मालपोतको स्रेस्ता आफ्नो घरमा लुकाएर राखेको गुनासो यसअघि पटकपटक प्रहरीमा पुगे पनि प्रहरीले बरामद गर्न सकेको थिएन ।
कार्यालय सहयोगी राय एक युवतीसँगै सोही घरमा रहेको वेला बिहीबार दिउँसो पक्राउ परेका थिए। उनकी पत्नी सुमिता रायले विवाहेत्तर सम्बन्ध राखी आफूलाई मानसिक यातना दिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।
प्रहरीले रायसँगै एक युवतीलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको डिएसपी पासवानले बताए। युवतीसँगै पक्राउ परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउँदा पुरानो स्रेस्तालगायतका कागजातहरू बरामद भएको हो।
सिराहाको बरियारपट्टी गाउँपालिका– ३ घर भएका रायका दुई छोरा र दुई छोरी छन्। मालपोत कार्यालय सिराहामा स्थायी रूपमा कार्यरत कार्यालय सहयोगी राय मालपोतको स्रेस्ताहरूको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए। आर्थिक लेनदेन भएपछि हराएको वा पुरानो स्रेस्ताहरू खोजेर दिने गरेका थिए।
आफूसँग राखेका कागजात रकमको लेनदेन नमिल्दा वर्षौँसम्म सेवाग्राहीलाई रित्तै फर्काउने र झुलाउने गरेको लेखापढी कानुन व्यवसायीहरूले बताएका छन्।राय नेकपा एमालेनिकट नेपाल कर्मचारी संगठनको जिल्ला अध्यक्षसमेत हुन्।
उनी नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज एवं पूर्वमन्त्री लीलानाथ श्रेष्ठका निकट रहेको जानकारहरू बताउँछन्। यसअघि पनि पक्राउ परेका रायलाई पूर्वमन्त्री श्रेष्ठ र एमालेको जिल्ला तहका शीर्ष नेताहरूको दबाबमा छाडिएको प्रहरी स्रोतले जनाएको छ। यसरी कर्मचारी निरन्तर भ्रष्टाचारमा लिप्त भएपछि जनता हैरान भएका छन ।

