काठमाडौं,धनगढीमा लागुऔषध खैरो हेरोइनसहित एक जना प्रहरी जवान पक्राउ परेका छन्।
प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत २७ वर्षीय चिरञ्जीवी बिसीलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनको साथबाट तीन सय ८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् ।
केही दिनअघिमात्र धनगढीको त्रिनगर प्रहरी चौकीमा कार्यरत एक जवान पनि लागुऔषध सेवन गरेको अवस्थामा प्रक्राउ परेका थिए । उनको साथबाट लागुऔषध बरामद नभएपछि प्रहरीले पक्राउबारे सार्वजनिक गरेको थिएन ।
जिल्लाका विभिन्न स्थानबाट प्रहरीले मंगलबार लागुऔषध मुद्दामा सात जनालाई पक्राउ गरेको छ। धनगढी, गोदावरी र घोडाघोडी नगरपालिकाबाट लागुऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका सबैबाट २७ ग्राम ३८० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।
घोडाघोडी नगरपालिका–१, का उमेशनाथ योगी, विनोद परियार, नविन मिजार दिनेशबहादुर बिष्ट र घोडाघोडी–२, मुकेश बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। त्यस्तै गोदावरी–१, का कमल रिजाललाई पनि प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।

