शुक्र, असार ५, २०८३

भीमदत्त–१८ मा बाल अधिकार र लागू औषधविरुद्ध सचेतना अभियान


कञ्चनपुर, जेठ १७ –भीमदत्त नगरपालिका–१८ नम्बर वडा कार्यालयको आयोजनामा “सुनिश्चित बाल अधिकार, सुन्दर भविष्य निर्माणको आधार” भन्ने नाराका साथ बाल अधिकार, नेतृत्व विकास तथा लागू औषध दुर्व्यसनी नियन्त्रणसम्बन्धी वडास्तरीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ

शुक्रबार स्थानीय ९/११ होटलमा सम्पन्न कार्यक्रममा वडाभित्रका ६ सामुदायिक तथा १३ निजी विद्यालय गरी १९ विद्यालयका २१ जना बालबालिकाहरूले सहभागिता जनाएका थिए। कार्यक्रममार्फत बालबालिकालाई कानुनी ज्ञान, नैतिक नेतृत्व र लागू औषध दुर्व्यसनबारे सचेत गराइएको हो।कार्यक्रममा कानुन अधिकृत बिरेन्द्र बहादुर सिंहले बालबालिकाको हक तथा अधिकार संरक्षणसम्बन्धी कानुनी प्रशिक्षण दिएका थिए।

ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्रराज ओझाले नैतिक तथा सेवामुखी नेतृत्वबारे प्रशिक्षण दिँदै नेतृत्वमा इमानदारी, पारदर्शिता र समाजसेवा भावनाको विकास आवश्यक रहेको उल्लेख गरे।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खडक बहादुर खत्रीले लागू औषध दुर्व्यसनको जोखिम र त्यसबाट बच्नुपर्ने उपायबारे जानकारी दिँदै बालबालिकालाई गलत बाटोबाट जोगाउन अभिभावक, स्थानीय निकाय, संघसंस्था र नागरिक सबैको साझा जिम्मेवारी भएको बताए।

कार्यक्रमका प्रमुख आयोजक वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले १८ नम्बर वडामा हालै गठन गरिएको १७ सदस्यीय बाल क्लबले लागू औषधविरुद्ध जनचेतना जगाउने कार्यमा अग्रसर भइ विभिन्न सामाजिक काममा सहभागी हुने बताए। उनले भीमदत्त नगरपालिकाका सबै १९ वडामा बाल क्लब गठनको आवश्यकता औंल्याउँदै बालबालिकामार्फत नै समाजमा रूपान्तरण सम्भव हुने धारणा व्यक्त गरे।

कार्यक्रमको सञ्चालन वडा सचिव दिनेशराज भट्टले गरेका थिए। कार्यक्रममा वडा सदस्य हेमबहादुर बस्नेत, पदमबहादुर चन्द, सितादेवी भण्डारी, कार्यालयका कर्मचारी रत्ना ऐरी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमले बालबालिकाहरूमा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र कानुनी सचेतनाको विकास गरी उनीहरूलाई सकारात्मक सामाजिक परिवर्तनका अगुवा बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

Leave a Reply