शनि, असार ६, २०८३

मधेशमा ६४ वटा सडकको एकसाथ शिलान्यास


प्रधानमन्त्री ओली–उद्घाटन महेन्द्रनगर (धनुषा) १८जेठः प्रधानमन्त्री केपी शर्मा ओली आइतबार जनकपुरधाममा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र एक सडक’ (दोस्रो चरण)को शिलान्यास कार्यक्रमलाई डिजिटल तरिकाबाट उद्घाटन गर्नुुहुँदै । तस्बिरः निरञ्जनकुमार साह÷रासस

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको महत्त्वाकाङ्क्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गर्नुभएको छ ।

मधेश प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको विशेष समाहरोमा प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिमार्फत एकैपटक ६४ वटा आयोजनाको शिलान्यास गर्नुभएको हो ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेश प्रदेशअन्तर्गत ८ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा ५ किलोमिटरका दरले ३ सय २० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ । ३ वर्षभित्र सम्पन्न गर्ने कालोपत्रसहितको पक्की सडक निर्माणका लागि १२ अर्ब ७० करोड रुपैयाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ ।

मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले स्रोत सुनिश्चित भई पूर्वाधार कार्यालयमार्फत ठेक्का प्रक्रिया सम्पन्न भइसकेको भन्दै अब सडक निर्माणको कामले तीव्रता पाउने बताउनुभयो । निर्माण हुने सडकको चौडाइ साढे ५ देखि ७ मिटर हुनेछ । सडकसँगै प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा १/१ वटा पक्की पुल निर्माणका लागि प्रक्रिया शुरू भइसकेको मन्त्रालयले जनाएको छ ।

यो योजनाले मधेश प्रदेशमा सडक पहुँच अभावमा रहेका गाउँलाई यातायात सञ्जालमा जोड्ने, व्यापार–व्यवसाय प्रवर्द्धन गर्ने र स्थानीय उत्पादनलाई बजारसम्म लैजान सहयोग पर्‍याउने मन्त्री यादवले बताउनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply