कञ्चनपुर, जेठ १२कैलाली भन्सार कार्यालय प्रमुख अनन्त तिमिल्सिनालाई धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले कुटपिट गरेका छन् ।
प्रमुख भन्सार अधिकृत समेत रहेका तिमिल्सिनामाथि शनिबार राति भन्सार कार्यालयभित्रै नगर प्रहरीका प्रमुख प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका प्रहरीले कुटपिट गरेका हुन ।
राति करिब १० बजेतिर भन्सार कार्यालयभित्र प्रवेश गरेका उनीहरूले प्रमुख तिमिल्सिनालाई धकेल्दै कुटपिट गरेको सीसीटीभी फुटेजमा देखिन्छ ।
नगर प्रहरीले प्रमुख भन्सार अधिकृतमाथि केरकार गर्दै कुटपिट गरेका छन् । फुटेजमा देखिएअनुसार एक जना मात्र नगर प्रहरी पोशाकमा रहेका छन् भने अन्य सादा पोशाकमा छन् ।
प्रमुख भन्सार अधिकृतमाथि कुटपिट गर्ने धनगढी नगर प्रहरीका प्रमुख समेत रहेका नगर प्रहरी निरीक्षक धामी भएको बताइएको छ । तर, नगर प्रहरी निरीक्षक धामीले भने तिमिल्सिनामाथि कुटपिट नगरेको दाबी गरेका छन् ।
तिमिल्सिना मदिराले लठ्ठ अवस्थामा रहेको दाबी गर्दै धामीले उल्टै आफूहरूमाथि दुव्र्यवहार गरेको बताए ।‘हामीले उहाँलाई कुटपिट गरेका छैनौँ । बीच सडकमा हाम्रो भ्यानमा हानेर तपाईंहरूलाई थुनिदिन्छौँ भनेर ममाथि हातपात गरेर धकेलेपछि मैले उता धकेलेको थिएँ । त्यो बेला मेरो मोबाइल भुइँमा खस्यो,’ धामीले भने, ‘अत्यधिक मापसे गरेको अवस्थामा म भन्सारको चिफ हुँ भन्दै सडकमा तमासा देखाइरहनुभएको थियो ।
’ धामीले उनी भन्सार प्रमुख भएको कुरा थाहा नभएका कारण भन्सार कार्यालयभित्र अनधिकृत व्यक्ति प्रवेश गरेको पो हो कि भनेर आफूहरू त्यहाँभित्र गएको तर हातपात र कुटपिट नगरेको दाबी दोर्होयाएका छन् ।‘उहाँले म भन्सार चिफ हुँ भनेर तमासा देखाइरहनुभएको थियो ।
त्यहाँ भएका कसैले पनि उहाँ चिफ हो भनेर भन्नुभएन । उहाँ भन्सार कार्यालयभित्र प्रवेश गरेपछि हामी पनि गएका थियौँ,’ धामीले भने, ‘तर पछि प्रहरीले हाकिमसाब हो भनेर यकिन गरेपछि हामी फर्किएका हौं । हातपात र कुटपिट गरेका छैनौँ ।’तर, फुटेजमा भने कुटपिट गरेको स्पष्ट देखिन्छ ।
तीव्र गतिको जिपले ६ लेन सडकको ट्री गार्डेनमा लगाइएका जाली भत्काएपछि खोजीमा नगर प्रहरीको टोली राति कैलाली भन्सारको बेरियलसम्म पुगेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले भन्सार प्रमुख र नगर प्रहरीबीच वादविवाद भएको खबरपछि राति प्रहरीको टोली पठाइएको बताए ।
तर प्रहरीको टोली त्यहाँ पुग्दासम्म स्थिति समान्य भइसकेको बताउँदै घटनाबारे थप कुरा बुझ्ने काम भइरहेको बताए ।
भन्सार प्रमुख तिमिल्सिनाले घटनाबारे प्रतिवेदन बनाएर विभागमा पठाउने तयारी गरेका छन् । भन्सार कार्यालयका सूचना अधिकारी खेम अर्यालले प्रमुखमाथि भएको कुटपिटसम्बन्धी घटनाको प्रतिवेदन बनाएर विभागलाई पठाउने तयारी भइरहेको बताए ।
प्रतिवेदनमा घटना विवरणसहित कार्यालयभित्रै प्रवेश गरेर कुटपिटमा संलग्न नगर प्रहरीलाई कारबाहीको माग गरिने भन्सार कार्यालयले जनाएको छ । यसरी भन्सार प्रमुखमाथि नगर प्रहरीले कुटपिट गरेपछि नागरिक समेत हैरान भएका छन ।

