बेलडाँडी । केही दिनदेखि बढेको अत्यधिक गर्मीपछि मंगलबार राति झरी परेपछि बुधबार दिनभर शितल भयो । दिनभर झरी आउने आशमा सर्वसाधारणले साँझ कुर्न प¥यो । साँझपख झरी आएर सर्वसाधारणको प्रतिक्षाको घडी तोडियो ।
अहिले झरी परि रहेको छ ।गर्मीले अस्तव्यस्त जीवनलाई झरीले केही राहत दिएको छ । झरी आउन केही दिन अघि मात्रै सार्वजनिक महालेखा परीक्षको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले भने सर्वसाधारणलाई झरीको शितलमा आनन्द बस्न नसक्ने अवस्थातिर पुगाएको छ ।
६२औँ वार्षिक लेखा परीक्षण प्रतिवेदन, २०८२ अनुसार आर्थिक वर्ष २०८०/८१ मा कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा मात्र २ करोड ७२ लाख रुपैयाँ बेरुजु देखिएको छ।
कुल ६७ करोड १ लाखको परीक्षण गर्दा ४.०६ प्रतिशत रकमको जवाफदेही नभएको तथ्यले राज्यको ढुकुटी र जनताको विश्वासमाथि ठुलो धोका दिइएको देखिन्छ।यो बेरुजु कुनै सामान्य लापरवाही हैन।
यो जनताको रगत–पसिनाको करमाथि खेलबाड हो। गाउँपालिकाको नेतृत्वमा रहेका काँग्रेस कञ्चनपुरका उपसभापति हरिशचन्द्र रानाले शिक्षण पेशा छाडेर जनताको सेवा गर्ने भनेर चुनाव लडेका थिए।
तर, सेवा होइन, जवाफदेहिता नै हराएको देखिन थालेको छ।जनताले तातो घाम र अप्ठ्यारो जीवन सहेर पनि शासनमा भरोसा गरेका थिए। तर, शासनतन्त्रमा बसेकाहरूको गैरजिम्मेवारीपन र भ्रष्ट सोचले त्यो भरोसामा चिरा पारेको छ।
झरीले तातो मौसमलाई केही थाम्न सक्यो होला, तर बेलडाँडीको यो बेरुजुले जनमानसमा चिसो होइन, आक्रोश थपिदिएको छ।
सवाल उठ्छ – के जनताको पैसामाथि यसरी खेलबाड गर्नेहरू सजाय पाउँछन् ? कि हरेक वर्ष यस्तै बेरुजुको बाढी आउँछ र त्यहीँ बग्छ राज्यको जवाफदेहिता ?

