शुक्र, असार ५, २०८३

विपन्न बिरामीको निःशुल्क सेवा संकटमा


काठमाडौं जेठ ७ गते । लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य एकाइमा बजेटको अभाव हुँदा बन्द हुने अवस्थामा पुगेको छ ।

आर्थिक रूपले विपन्न, वृद्धवृद्धा तथा सामाजिक रूपमा पिछडिएका वर्गलाई निःशुल्क तथा न्यून दरमा औषधी वितरण गर्दै आएको छ ।

अस्पतालले ६० वर्ष उमेर पूरा भएका अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामीलाई नागरिकता तथा राष्ट्रिय परिचयपत्रका आधारमा चिकित्सकको सल्लाहबमोजिमको औषधी निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो समय एकाइका लागि सरकारले उपलब्ध गराउँदै आएको बजेट अत्यन्त कम हुँदा समस्या परेको र कुनै पनि बेला यो एकाइ नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने अस्पतालले जनाएको छ ।

अस्पतालले सामाजिक स्वास्थ्य एकाइमार्फत वार्षिक चार करोड रुपियाँ बराबरको औषधी निःशुल्क वितरण गर्दै आएको छ । सरकारले वार्षिक ५० लाख रुपियाँ मात्रै पठाउँदा समस्या परेको अस्पताल प्रशासनले जनाएको छ ।

सरकारले सो कार्यव्रमका लागि गत वर्ष एक करोड रकम विनियोजन गरेको थियो भने यो वर्ष ५० लाख मात्रै विनियोजन गरेको छ । लुम्बिनी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १३ जिल्लाका बिरामी उपचारका लागि आउँछन् ।

यस कार्यक्रम अन्तर्गत सेवाग्राहीको सङ्ख्या बढ्दै जाने तर सरकारले उपलब्ध गराउने अनुदान रकम घट्दै जाँदा अस्पताल विकास समितिको सीमित स्रोतसाधनले कार्यक्रम लाई थप प्रभावकारी बनाउन नसकिएको अस्पतालको भनाइ छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक रोशनलाल चौधरीले सामाजिक सेवा एकाइमा लुम्बिनी प्रदेश सरकारले लगानी गर्दै आएको भए पनि पर्याप्त नभएको बताउनुभयो । उहाँले अब तिनै तहका सरकारले नै बजेटको व्यवस्था गरेर एकाइलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले सामाजिक सेवा एकाइबाट लक्षित वर्गका बिरामीलाई सेवा प्रदान गर्दै आएको बताउँदै अब लक्षित वर्गले सेवा नपाउने अवस्था सिर्जना हुन थालेको उल्लेख गर्नुभयो ।

अस्पतालका प्रशासन प्रमुख राजन केसीले अस्पतालले १३ जिल्लाका बिरामीलाई उपचार गर्दै आएको बताउँदै सामाजिक स्वास्थ्य एकाइमा वार्षिक चार करोड खर्च भइरहेको अवस्थामा ५० लाख मात्रै बजेट आइरहेकोले समस्या परेको बताउनुभयो ।

सामाजिक सेवा एकाइ प्रमुख नेत्रप्रसाद आचार्यले एकाइमा आउने अधिकांश समस्याग्रस्त बिरामी भएको बताउँदै एकाइबाट अपाङ्गतामैत्री वातावरण बनाउनका लागि दोभासे राखिएको बताउनुभयो ।

यसैबिच लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाव समितिले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाहबारे अनुगमन तथा सरोकारवाला पक्षसँग छलफल गरेको छ ।

सुझाव समितिका संयोजक पूर्वस्वास्थ्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले मितव्ययी र प्रभावकारी ढङ्गमा सेवा सञ्चालनका लागि आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार

Leave a Reply