गणेश जोशी कञ्चनपुर:बैतडीको दोगडाकेदार गाउँपालिकाले ‘एक घर,एक धारा अभियान’सञ्चालन गरेको वर्षौ भइसकेको छ ।
तर गाउँपालिकाको वडानम्बर २ बडिया र कणेलीगाउँमा रहेको खानेपानी समस्या भने जस्ताको त्यस्तै छ ।बडिया र कणेलीगाउँमा बाह्रै महिना खानेपानीको समस्या हुने गरेको छ ।
यहाँका ३०० घरपरिवार खानेपानीको समस्यामा रहेका हुन् ।३० वर्ष पहिला एडीबीको सहयोगमा बनेको खानेपानी योजना जीर्ण बनेपछि यहाँ बाह्रै महिना खानेपानीको समस्या हुने गरेको स्थानीय करनसिंह भाटले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “ खानेपानीको लागि निकै समस्या छ ।
एडीबीले बनाइदिएको खानेपानी योजना जीर्ण भयो,परम्परागत पानीका न्वालो (कुवा) सुकेका छन् । यहाँ बाह्रै महिना खानेपानीको हाहाकार हुने गरेको छ ।”एडीबीको सहयोगमा यहाँ वि स २०५२ सालमा खानेपानी योजना निर्माण भएपनि हाल भने जीर्ण भएको उहाँले बताउनुभयो ।
दोगडाकेदार गाउँपालिकाले अन्य बस्तीहरुमा ‘एक घर एक धारा अभियान’ सञ्चालन गरेपनि यहाँको समस्या समाधानका लागि भने कुनै चासो नदिएको स्थानीयबासिन्दाको आरोप रहेको छ ।गाउँमा भएका पानीका मुहान सुकेपछि बणियाबासी एक गाग्री पानीका लागि दिनभरि भौँतारिने गरेका छन् ।
खानेपानीको बाह्रै महिना समस्या हुने गरेको अर्का स्थानीय लोकेन्द्र विष्टले बताउनुभयो ।उहाँले भन्नुभयो,“ बडिया र कणेलीगाउँबासीका दुःख भनेको खानेपानी हो । यो समस्या समाधानका लागि कुनै ठाउँबाट पहल हुन सकेको छैन् । ”खानेपानीको लागि घण्टौंलगाएर ल्याउनुपरेको रघुबिर भाटले बताउनुभयो ।
उहाँले भन्नुभयो,“खानेपानीका लागि घण्टौं लाइन बसेर भर्नपर्छ । पानी भर्नमै रातदिन बित्ने गर्दछ । ”बणियामा खानेपानी पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षअघि लिफ्ट खानेपानी योजना सुरु भएपनि अधुरै रहेको छ ।
उक्त योजनाले बजेट अभावका कारण अहिलेसम्म पूर्णता नपाएको हो ।बजेट अभावकै कारण बणियामा पाँच वर्षदेखि लिफ्ट खानेपानी अलपत्र पर्दा यहाँका नागरिकलाई समस्या भएको दोगडाकेदार गाउँपालिका–२ का वडाध्यक्ष विष्णुदत्त भट्टले बताउनुभयो ।
बडिया र कणेलीगाउँका ३०० घरपरिवारलाई बाह्रै महिना खानेपानीको समस्या हुने गरेको छ ।उहाँले भन्नुभयो,“ प्रदेश सरकारले निर्माण गरिरहेको लिफ्ट खानेपानी योजना सम्पन्न भएपछि यहाँका नागरिकलाई राहत हुने थियो ।
हाल भने खानेपानीको निकै समस्या छ। ”बजेट बढेर आउनुको सट्टा घटेर आउँदा लिफ्ट खानेपानी निर्माणको काम वर्षौसम्म सम्पन्न हुन नसकेको वडाध्यक्ष भट्टको भनाई छ । उहाँले भन्नुभयो,“योजना निर्माणको काम क्रमागत रुपमा चलिरहेको छ ।
आगामी वर्ष सम्पन्न हुने आस छ ।”बणियामा खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले पाँच वर्षअघि तीन करोड ९६ लाख रुपियाँमा लिफ्ट खानेपानी योजना निर्माण सुरु गरेको डिभिजन खानेपानी कार्यालय बैतडीले जनाएको छ ।
कार्यालयका प्रमुख गोविन्दप्रसाद देवकोटाले उक्त योजनाको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।उहाँले भन्नुभयो,“ उक्त योजना चार वटा स्किममा काम भइरहेको छ ।
जसमध्ये तीन वटा स्किम लिफ्ट प्रविधिको भएकाले मोटर चलाउन विद्युत्का पोल गाडेर तार तान्ने काम पूरा भएको छ । निर्माण सम्पन्नका लागि केही समय अझै लाग्छ ।”

